तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको भारत भ्रमण मुलुकको हितमा केन्द्रित रहने ः मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि गर्न लाग्नुभएको मित्र राष्ट्र भारतको भ्रमण मुलुकको हितमा केन्द्रित रहने बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले अझ उचाइँमा पुर्‍याउने प्रष्ट पार्नुभयो ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले अरुण तेस्रो जल विद्युत् परियोजनाको पहुँच मार्ग अन्तर्गत छयङकुटी– दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश बमोजिम ४३ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ ।

यसैगरी, बैठकले आयोजनाको बहुवर्षीय ठेक्का सम्बन्धी दोस्रो संशोधन मापदण्ड स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने र नेपाल कम्बोडिया टिफा काउन्सिलको पहिलो बैठक भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button