अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश अनुमतिपत्र अभिमुखीकरण तालिम सञ्चालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको तर्फबाट विमानस्थलमा कार्यरत नेपाल प्रहरीका अधिकृत तथा जवानहरूको लागि निषेधित क्षेत्र प्रवेश अनुमतिपत्र (पास) सम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको छ ।
तालिममा विमानस्थलमा कार्यरत ३८६ जना प्रहरी कर्मचारीहरू सहभागी हुने छन् । ७ दिनसम्म सञ्चालन हुने यस तालिमको मुख्य उद्देश्य विमानस्थल सुरक्षाको परिचय, आवश्यकता, चुनौती, सुरक्षा सम्बन्धी कानून, प्रवेश पासहरूको महत्त्व, विमानस्थलका आपतकालिन अवस्थाहरूको सम्बन्धमा जानकारी दिनु रहेको छ।

प्रशिक्षणबाट विमानस्थल भित्र निषेधित क्षेत्रहरूमा प्रवेश अनुमतिपत्र (पास) के कस्तो हुने, के कस्तो स्थानहरूमा प्रवेश पाउन सक्ने, पासको चेकजाँच कसरी गर्ने, कुन/कुन निकायको के कस्तो जिम्मेवारी हुने, निषेधित क्षेत्रमा के कस्ता पास भएका सवारी साधनहरूले प्रवेश पाउने लगायतका विषयमा प्रहरी कर्मचारीहरूलाई जानकारी दिने कुरा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताउनु भयो ।
प्रहरी कर्मचारीहरूलाई विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा कार्यरत रहँदा यस्ता किसिमका प्रशिक्षणले पास वाहक कर्मचारी र यात्रुहरूलाई थप सहजता प्रदान गर्नुका साथै विमानस्थलको सुरक्षा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्