गाउँ ब्लकमा रहेका करिब २० हजार भूमिविहीनलाई लालपुर्जा वितरण

बाँके । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँ ब्लकमा रहेका करिब २० हजार भूमि विहीनलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँ ब्लकमा रहेका ९६ घरपरिवारलाई आज लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यस वर्षको प्राथमिकतामा नै नरहेको भए पनि आफूले मन्त्रालय सम्हालेपछि गाउँ ब्लकमा लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाएको बताउनुभयो ।
उहाँले चार महिनाको अवधिमा गाउँ ब्लकमा रहेका १९ हजार ६ सयभन्दा बढी भूमिविहीनलाई लालपुर्जा वितरण गरिसकिएको भन्नुहुँदै अबको एक वर्षभित्र सबै गाउँ ब्लकको समस्या समाधान गरिसक्ने गरी कामलाइ तीव्र पारिएको बताउनुभयो ।
संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उहाँले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमानदार भएर लाग्न आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले यो वा त्यो पार्टी नभनी जनताको पक्षमा काम गर्ने सबैसँग हातेमालो गरेर अघि बढ्न आफू तयार रहेको भन्दै सही काम गर्नेलाई जनताले पनि चिन्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताउनुभयो ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवन इच्छाकामना गाउँपालिका, काठमाडौँको कीर्तिपुर नगरपालिका, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँ ब्लकमा रहेका भूमि विहीनहरूलाई लालपुर्जा वितरण गरिसक्नुभएको छ ।
२०२१ साल यता जग्गाको नापी हुँदा गाउँ ब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जा विहीन बनिरहेकाहरूलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।







प्रतिक्रिया राख्नुहोस्