भ्रमको तुवाँलो हटाउन समाजवादी प्रेसले भूमिका खेल्नुपर्छ : नेता खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनता र राष्ट्रका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको खण्डन गर्न सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
राजधानीमा सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रमपूर्ण सूचनाको खण्डन गरी भ्रमको तुवाँलो हटाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।
“प्रेसले दक्षिणपन्थी अवसरवादको खण्डन गर्नुपर्छ, दक्षिणपन्थीले लिएका नीति, विचार, कार्यक्रम र कार्यदिशाको खण्डन गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो, “व्यक्तिगत आचरणका बारेमा होइन, नीतिगत खण्डन गरेर जनतालाई सुसूचित गर्न लाग्नुपर्छ ।”
वामपन्थी एकता निर्माण गर्ने काममा प्रेसको भूमिका अपरिहार्य रहेको बताउँदै उहाँले सच्चा कम्युनिष्टबीच कार्यगत एकता हुन सक्ने सम्भावना औँल्याउनुभयो ।
“कम्युनिष्टको खोल ओढ्ने बित्तिकै कम्युनिष्ट भइँदैन, मार्क्सवाद लेनिनवादलाई मार्गदर्शन सिद्धान्त मान्ने, समाजवादी क्रान्तिको लक्ष्य लिने र दलाल पुँजीवाद र नवउपनिवेशवादको विरोध गर्न सक्ने मात्र कम्युनिष्ट हुन सक्छन्,” नेता खनालले भन्नुभयो, “यी शक्तिहरुबीच कार्यगत एकता हुन सक्छ ।” उहाँले विभिन्न कम्युनिष्टसँग एकता गर्ने आधार तयार गर्न सूचना दिने र विचार प्रवाह गर्ने काम प्रेसले गर्नुपर्छ भन्नुभयो ।
बैठकमा नेता खनालले नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादबाट ग्रस्त रहेको आरोप लगाउनुभयो । “कम्युनिष्ट पार्टीको जनमत विभाजित भयो, संविधानसभाबाट निर्मित संविधानमाथि प्रहार भयो, खोक्रो राष्ट्रवादको नारा देखाइयो,” उहाँले भन्नुभयो । उहाँले नेपाली समाजको चरित्र पहिचान गर्न नसक्ने पार्टीबाट मुलुकको समृद्धि सम्भव नभएको ठोकुवा गर्नुभयो ।
नेता खनालले नेपालका मित्र राष्ट्रहरू रुस र युक्रेनले आपसी समझदारीबाट विवादको समाधान खोज्नुपर्ने बताउनुभएको छ । दुई मुलुक आपसी द्वन्द्वमा रहेको अवस्थामा बाँकी विश्वले एकार्कालाई उक्साउने नभई मध्यस्थताको वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो । “रुस र युक्रेन नेपालका मित्रराष्ट्र हुन्, उनीहरुबीच आपसी युद्ध भड्काउन कसैले पनि उक्साउन हुँदैन,” उहाँले भन्नुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रेस सङ्गठन श्रमजीवी पत्रकारको हकहितमा समर्पित हुनुपर्ने र प्रगतिशील पत्रकारलाई सङ्गठित गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सापेक्ष, सार्थक, जन पक्षीय पत्रकारिता गर्दै जनताको पक्षमा आफूलाई समर्पित र वकालत गर्नुपर्ने उहाँले बताउनुभयो ।
पार्टीको प्रचार विभागका उपप्रमुख बालकृष्ण चापागाईँले पार्टीले लिएको सही विचार र नीतिलाई जनतामाझ लैजान प्रेस सङ्गठन अगाडि बढ्नुपर्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य सविना भट्टराई र अशेष घिमिरेले श्रमजीवीका सवालमा पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्