स्वास्थ्य सेवा प्राप्त गर्ने जनताको मौलिक हक दिलाउन सरकार अग्रसर : मन्त्री खतिवडा

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले सरकार संविधानमा व्यवस्था भए अनुसार स्वास्थ्य सेवा प्राप्त गर्ने जनताको मौलिक हक दिलाउन अग्रसर रहेको बताउनुभएको छ ।
आज भक्तपुरको ठिमीमा विश्व क्षयरोग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै नागरिकलाई अकाल मृत्युबाट बचाउन सशक्त कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
सरकारको एकल प्रयासबाट मात्र क्षयरोग लगायत अन्य रोग नियन्त्रणमा सफलता हासिल गर्न नसक्ने भएकाले यसमा सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
नेपालमा ४० हजार भन्दा बढी क्षयरोगी उपचारको दायरामा नआएको भन्दै उनीहरूको खोजी गर्दै औषधी उपचारको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।
दिगो विकास लक्ष्य हासिल गर्नका लागि क्षयरोग लगायत सबै रोगको अन्त्य प्रतिकार्य आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङ्गले स्वास्थ्य क्षेत्रमा राज्यले ठूलो लगानी गरेको भन्दै राज्यले दिएको स्वास्थ्य सुविधा बारे नागरिकलाई अवगत गराउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका सचिवद्धय डा. रोशन पोखरेल र देवकुमारी गुरागाईँले क्षयरोगको लक्षण देखिए बेलैमा उपचार गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा क्षयरोग नियन्त्रणको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको थियो ।
‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ आज क्षयरोग दिवस मनाइएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले बताएको छ ।
सरकारले क्षयरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ विश्व क्षयरोग दिवस २०२२ आज देशभर विभिन्न कार्यक्रम मनाइँदै छ ।








प्रतिक्रिया राख्नुहोस्