तपाईँ सुन्दै हुनुहुन्छः

आयोजक भोजपुरलाई हराउँदै रुपन्देही फाइनल प्रवेश

भोजपुर । पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत शनिवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई ५–३ गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाइज रुपन्देही फाइनल प्रवेश गरेको छ ।

निर्धारित समयमा १/१ गोलको बराबरी भएपछि खेल ट्राई बेकरमा गएको थियो ।

ट्राई बेकरमा रुपन्देहीका तर्फबाट निशान न्यौपाने, सुनिल खडका, फोवना, मनोज श्रेष्ठ र यानिकले गोल गरेका थिए भने भोजपुरका तर्फबाट लक्ष्मण तामाङ, रामबहादुर तामाङ र प्रवीण राईले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच रुपन्देहीका एबोडे भए ।

आइतबारको दोस्रो सेमिफाइनल खेल अमृक्ता परिवार, वेस्ट बङ्गाल र राष्ट्रिय जागृति क्लब सुनसरीका बिचमा हुने आयोजकले जानकारी दिएको छ ।

भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चैत्र १ गतेबाट नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन् ।

३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button