तपाईँ सुन्दै हुनुहुन्छः

लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरूले भेटवार्ता गर्नुभएको छ ।

काउन्सिलका अध्यक्ष डा. असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीहरूले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभएको थियो । उहाँले वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या झेल्दै आएको भन्दै आवश्यक सीप–दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित गर्न आफु प्रयत्नशील रहेको बताउनुभयो । उहाँले विदेशमा नेपालीले आर्जेको सीप र पुँजी नेपाल भित्र्याउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । 

व्यवसायीहरूले युएईमा भिजिट भिसाबाट सिर्जित समस्याको उपचार मात्र होइन, निर्मूल नै पार्नुपर्ने बताउनुभएको थियो । भिजिट भिसा सम्बन्धी समस्या समाधानका लागि युएई सरकारसँग मिलेर काम गर्ने बताउनुहुँदै मन्त्री श्रेष्ठले सकेसम्म युएई मै रोजगारी, ओभरस्टे भएर धेरै शुल्क बुझाउनुपर्ने भएकाहरूलाई मिनाहा गर्न र नेपाल लैजानै पर्नेहरूलाई उद्धारमा सहयोग गर्ने प्रतिबद्धता युएई सरकारले जनाएको बताउनुभयो । 

नेपाली बिजनेस काउन्सिलका पदाधिकारीहरूले युएईमा व्यापारको राम्रो अवसरका साथसाथै यसका चुनौतीका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । 

नेपाली बिजनेस काउन्सिल युएईको दुबईमा व्यापार गरिरहेका नेपाली व्यावसायीहरुको सरकारी निकायमा दर्ता भएको व्यापारिक संस्था हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button