नेकपा (एस) ले खटायो स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरू

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरू खटाउने भएको छ । ‘जनतामा जाऊँ, एकीकृत समाजवादीलाई जिताऊँ’ भन्ने मूल चुनावी नारा सहित एकीकृत समाजवादी भूगोलमा गएर वास्तविक अवस्था पहिचान गर्ने भएको हो ।
बिहीबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीले ७ वटै प्रदेशमा नेताहरू खटाउने निर्णय गरेको बताउनु भयो ।
जस अनुसार प्रदेश १ मा उपमहासचिव प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती उपमहासचिव गङ्गालाल तुलाधर, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई जिम्मेवारी तोकेको छ ।
अनुगमनमा खटिने नेताहरूले सातैवटा प्रदेश, वडा, गाउँ र पालिकासम्म पार्टीको वास्तविक अवस्थाको रिपोर्टिङ गरी सोही अनुसार आगामी रणनीति बन्ने खतिवडाले बताउनु भएको छ । सातैवटा प्रदेशमा केन्द्रीय कार्यालयबाट अनुगमन गर्न नेताहरू पठाउने निर्णय भएको छ । यो टोलीले सातैवटा प्रदेशमा गरेको कामको रिपोर्टिङ ल्याउनेछन् । वडा, गाउँ र पालिकासम्मको हाम्रो वास्तविक अवस्थाको रिपोर्टिङ आउनेछ। हामी वास्तविक सूचना ल्याउने छौँ। त्यही अनुसार हामी रणनीति बनाउनेछौँ, खतिवडाले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्