तपाईँ सुन्दै हुनुहुन्छः

साउदी राजकुमार बङ्गलादेश प्रस्थान

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका साउदी अरबका विदेश मन्त्री राजकुमार फैजल विन फरहान अल साउदले आफ्नो दुई दिने नेपाल भ्रमण पुरा गरी आज बङ्गलादेशको ढाका प्रस्थान गर्नुभएको छ ।

नेपाल भ्रमणका क्रममा साउदी विदेश मन्त्री अल साउदलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साउदी विदेश मन्त्री अल साउदले आज राष्ट्रपति कार्यालय शीतल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

भेटका अवसरमा दुई देशबिच आपसी सम्बन्ध, दुई पक्षीय हित र चासेका विषयमा छलफल भएको भेटपछि राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति भण्डारी सँगको भेटिसकेपछि साउदी विदेश मन्त्री अल साउदलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभयो ।

प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटमा व्यापार, पर्यटन प्रवर्द्धन तथा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

यसैगरी विदेश मन्त्री अल साउद नेतृत्वको प्रतिनिधि मण्डलले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग पनि भेट वार्ता गरेको छ ।

त्यस अवसरमा नेपाल र साउदी अरबबीच जनलर को अपरेसन एग्रिमेन्टमा हस्ताक्षर समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो सम्झौताले नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुद लगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ ।

मन्त्री खड्काले साउदसहित साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नुभएको परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

साउदी विदेश मन्त्री अल साउद श्रीलङ्काबाट निजी विमानमा सोमबार साँझ नेपाल आउनुभएको थियो भने आज बङ्गलादेशको ढाकातर्फ प्रस्थान गर्नुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले बिदाइ गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button