मेलम्ची खानेपानी तथा बाढी प्रभावितहरूको समस्या सम्बोधन गर्न माग
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी र सङ्घीय सरकारले पटक पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितहरूको समस्या सम्बोधन नगरेको भन्दै आजबाट आयोजना प्रभावितहरू आन्दोलनमा उत्रिएका छन् ।
माग पुरा नभएसम्म आयोजनाको कुनै पनि काम गर्न नदिने उनीहरूले चेतावनी दिएका छन् । बहु प्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले स्थानीय प्रभावितहरूको माग सम्बोधन नगरेको भन्दै बाढी तथा आयोजना प्रभावितहरूले आज मेलम्चीमा र्याली तथा कोणसभा आयोजना गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने हेलम्बु बाडीपीडित सरोकार समन्वय समितिका सचिव अर्जुन भण्डारीले बताउनुभयो ।

जमिन संरक्षण र खेती योग्य जमिन बनाउनका लागी मुहानदेखि सिपाघाट-भिमटारसम्म आयआर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ तथा सार्वजनिक पूर्वाधार निर्माण एवम् संरक्षणका लागि मेलम्ची इन्द्रावती नदी कोरिडोर एकिकृत विकास आयोजनाको रुपमा एक विशेष दीर्घकालीन आयोजना सरकारले तत्काल सञ्चालन गर्न समेत प्रभावित स्थानीयले माग गरेका छन् । आन्दोलनलाई विभिन्न राजनीतिक दल तथा मेलम्ची नगरपालिकाले पनि समर्थन जनाएका छन् । कार्यक्रममा नगर प्रमुख डम्बर अर्यालले आन्दोलनलाई सशक्त बनाउन आह्वान समेत गर्नुभयो ।
नदीलाई पुरानै धारमा बहाउन, मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको कम्तीमा ५ मिटर खोला गहिराउन र तटीय क्षेत्रका जोखिममा रहेका बस्तीहरूको संरक्षणका लागी आवश्यक बजेट तत्काल आयोजनाबाट उपलब्ध गराउन प्रभावितहरूले माग गरेका छन् । प्रभावितहरूको आन्दोलनलाई एमाले, काँग्रेस, माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न पार्टीले समेत सघाउने बताएका छन् ।
माग पुरा नभए थप आन्दोलन गरी आयोजनालाई प्रभावित पार्ने मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढी पीडित समन्वय समितिका संयोजक उपेन्द्र तामाङले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्