सिपसँगैको लगानीले फेरियो जीवन शैली

जुम्ला । तिला गाउँपालिका ६ तुही गाउँकी कालिका बुढाको दैनिकी चुलोचौको गर्दैमा बित्थ्यो । गाउँमै केही व्यवसाय गर्ने आँट भएपनि कालिकासँग न त लगानी गर्ने पुँजी थियो, न त थियो कुनै जानेको सीपन नै । दैनिकी गुजार्ने विकल्पको खोजीमै हुनुहुन्थ्यो उहाँ ।
वर्ल्ड भिजनको सहयोग तथा किर्डाक नेपालको साझेदारीमा सञ्चालित राइज परियोजनाले सिलाई कटाई सञ्चालनका लागि बुढालाई सिपसँगै पुँजी दिएपछि कालिका बुढाको दैनिकी अचेल फेरिएको छ ।
तिला गाउँपालिकाको रारालिही बजारदेखि झण्डै १० किमी टाढा दुर्गम तुही गाउँमा कालिकाले सिलाई कटाई सम्बन्धी व्यवसाय सञ्चालन गरेको अहिले ६ महिना बितिसक्यो ।
सिलाई कटाइबाट राम्रो आम्दानी भइरहेको बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,“व्यवसाय सञ्चालनका लागि किर्डाकले ३५ हजार बराबरको पुँजी लगानी गरेको थियो । अहिले सिलाई कटाई व्यवसायीक बन्दै गएको छ । महिनामा १० देखि १५ हजारसम्म कमाई हुन्छ ।”
आठ जनाको परिवारको लुगाफाटो,छोराछोरीका लागि कापी कलम,नुन तेल सबै खर्च सिलाई कटाईबाटै जुटिरहेको बुढाको भनाई छ । किर्डाकको सहयोगले व्यवसाय सुरुवातसँगै थप लगानी गरेर व्यवसाय अघि बढाउन ऊर्जा मिलेको उल्लेख गर्नुभयो ।
कालिकाले गाउँमै महिलाका पहिरन चोली,ब्लाउज,कुर्ता सुरुवाल,पेटिकोट सिलाउनुहुन्छ । बजारको भन्दा धेरै सस्तोमा गाउँमै लुगा सिलाउने भएपछि कालिकाको टेर्लसमा दैनिकजसो ग्राहकहरूको भिड लाग्ने गरेको छ ।
बुहारीले सिलाइकटाई सुरु गर्न थालेदेखि घरको नुन तेलदेखि लुगाफाटो फेर्न सहज भएको कालिकाकी सासू ५७ वर्षीय हिरा बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,“कमाईको स्रोत थिएन । कृषिमै निर्भर परिवार हो । तर बुहारीले सिलाई कटाई व्यवसाय थालेपछि आर्थिक गतिविधि सँग जोडिएका छौ । सहयोगी संस्था किर्डाक प्रति आभारी छौ ।”
गाउँमै व्यवसाय सञ्चालनले राहत
सामान्यतया गाउँघरमा चाड पर्व आउँदा नयाँ लुगा सिलाउने लगाउने चलन अहिले पनि कायम छ । चाहे पूर्णिमा होस्,वा दशै तिहार नयाँ वर्षमा नयाँ कपडा सिलाउने चलन छ । तर गाउँबाट रारा सेरी बजार,सदरमुकाम गएर कपडा सिलाउँदा कपडा भन्दा आउने जाने खर्च दोब्बर हुन्थ्यो ।
तिला ६ तुहीकी बाटु कामीले भन्नुभयो,“गाउँमा सिलाइकटाई सुरु हुँदा हामी सेवासँगै राहत मिलेको छ । बजारमा साढे ३ सयमा सिलाउने कुर्ता सुरुवाल गाउँमा २ सयमै सिलाउन पाएका छौ । बजार जाने खर्च पनि बचेको छ । पैसा नभएको बेला पनि काम चल्छ । समयको बचतसँगै सस्तोमा लुगा सिउन पाउँदा खुसी छौ ।”
गाउँमा टेर्लस सँगै खुद्रा पसल सञ्चालन भएपछि राहत पाएको तुही गाउँकी अर्की महिला माघी कामीको भनाई छ । तुही गाउँका झण्डै १ सय घरधुरीले उक्त सिलाई कटाई व्यवसाय तथा खुद्रा व्यापारबाट लाभान्वित भएको उहाँको भनाई छ ।
गाउँमै खुद्रा पसल सञ्चालनले एक प्याकेट तेल किन्न बजार जाँदा दुई प्याकेट तेल बराबरको खर्च गर्नुपर्ने बाध्यताबाट मुक्त भएको एक महिलाले बताउनुभयो ।
किर्डाककै सहयोगमा तुही गाउँकी बाटु कामी,माघी कामी लगायतका महिलाले ग्रिन हाउस मार्फत तरकारी उत्पादन गरी आर्थिक उत्पादन र पोषणमा सुधार गरिरहनुभएको छ ।
किर्डाकले तिलाका तुही,रारा गाउँ लगायतका गाउँमा राईज परियोजना मार्फत सिलाई कटाई,बाख्रा पालन,तरकारी खेती र खुद्रा व्यापार सञ्चालनका लागि सहयोग गर्दै आइरहेको छ ।
राईज परियोजना समाप्ति
साना व्यवसाय तथा रोजगारी सृजनाका माध्यमबाट आम्दानी वृद्धि (राईज) परियोजना समाप्त भएको छ । २०२१ मार्च १ बाट सुरु भएको उक्त परियोजना कार्यविधि सकिएपछि आइतबार परियोजना कार्यक्षेत्रको अनुगमनसँगै अन्तरक्रिया गरेर समाप्ति गरिएको हो । तिलाको १ देखि ९ वडासम्म लागु भएको परियोजनाबाट तिलाका १६२ जनाले सीप सिक्नुभएको छ । परियोजनाबाट ३३१ जना नागरिकले गुणस्तरीय कृषि सामाग्री र बजारीकरण बारे ज्ञान प्राप्त गरेको किर्डाक नेपाल जुम्लाका फिल्ड कोडिनेटर भेष बहादुर रावलले बताउनुभयो । उहाँका अनुसार परियोजनाको कुल बजेट १ करोड ९ लाख ८४ हजार मध्ये १२ लाख बाहेक सबै खर्च भइसकेको छ ।
विगत १ वर्षदेखि सञ्चालित परियोजनाको कार्यविधि सकिएकोले अनुगमन,समीक्षा,तथा आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल गर्दै परियोजना हस्तान्तरण भएको वर्ल्ड भिजनका फिल्ड कोडिनेटर रावलले जानकारी दिनुभयो ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले संस्थाले सुरुवात गरेको व्यवसाय निरन्तरताका लागि पालिकाले आवश्यक पहल गर्ने बताउनुभयो । विकास सबैको साझेदारीबाट मात्रै सम्भव छ । त्यसैले गैसस,सरकारी निकायको साझेदारीबाट समाज रूपान्तरण हुने उहाँको भनाई छ ।
वर्ल्ड भिजनको सहयोग र किर्डाकको सहजिकरणमा सचेतना वृद्धि,क्षमता विकास तथा समुदायको आयस्तर वृद्धिमा ठुलो सहयोग प्राप्त भएकोमा अध्यक्ष योगीले धन्यवाद दिनुभयो । उहाँले राइज परियोजनालाई पुन सञ्चालनको लागि आग्रह समेत गर्नुभयो । परियोजनाले गाउँका महिलाको क्षमता विकास,उत्पादन वृद्धि तथा व्यवसायमैत्री बनाउन मदत पुगेको पाइएको स्याउ सुपरजोन कार्यालय प्रमुख गङ्गा पोखरेलले बताउनुभयो ।
संस्था,विषयगत कार्यालय र स्थानीय तहका कार्यक्रमहरू दोहोरिने समस्या रहेकोले यसमा ध्यान दिनुपर्नेमा जिसस उपप्रमुख कार्मा बुढाले बताउनुभयो । उपाध्यक्ष विष्णुमाया बुढाले अब दिएर मात्रै सम्भव नहुने भएकोले दीर्घकालीन फाइदा हुने काममा लगानी गर्नु पर्ने त्यस्तै योजना बनाउनु पर्नेमा जोड दिनुभयो । गाउँमा उत्पादित वस्तुको बजारीकरणको चुनौती भएकोले पालिकाले सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्