स्वास्थ्य क्षेत्रलाई व्यापारमुखी नभई सेवामुखी बनाउनु पर्छ : मन्त्री चौधरी
वीरगंज । खानेपानी मन्त्री एवं नेपाली काँग्रेसका सह महामन्त्री उमाकान्त चौधरीले निजी क्षेत्रमा खुलेका अस्पतालहरूले स्वास्थ्य क्षेत्रलाई व्यापारमुखी भन्दा पनि सेवामुखी बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
वीरगंज महानगरपालिकाको वडा नम्बर ४ बिर्तामा रहेको शान्ति पोलिक्लिनिकको आज एक कार्यक्रमका बीच उद्घाटन गर्दै मन्त्री चौधरीले वर्तमान सरकार आम जनतालाई सुलभ र स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा जुटेको बताउनुभयो । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै एक मात्र विकल्प भएको हुँदा सरकारले खोपलाई उच्च प्राथमिकतामा राखी सम्पूर्ण नेपाली जनतालाई खोपको पहुँचमा पुर्याएको धारणा व्यक्त गर्नु भयो ।
मन्त्री चौधरीले वीरगंजको बिर्तामा स्थापित शान्ति पोलिक्लिनिकले दिन लागेको विशेषज्ञ सहितको चिकित्सा सेवाबाट यस क्षेत्रका जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा मधेश प्रदेशकै सबैभन्दा ठुलो र सुविधा सम्पन्न पोलिक्लिनिकको रुपमा शान्ति पोलि क्लिनिकले बीरगंजबाट स्तरीय स्वास्थ्य सेवा दिइरहेको शान्ति पोलिक्लिनिकका सञ्चालक प्रमोद कुमार सर्राफले बताउनुभयो ।
शान्ति पोलिक्लिनिकमा आजदेखि वरिष्ठ स्त्री एवं प्रसूति, निःसन्तान रोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कुमार चौधरी र एनी पाण्डेयले उपचार शुरु गर्नु भएको छ भने यस अघि क्लिनिकमा डा. निरज कुमार सिंह, डा. चन्दन बनर्जी, डा.दिनेश कुमार साह, डा.कुशराज गिरी सहित एक दर्जन भन्दा बढी विशेषज्ञ एवं ख्याति प्राप्त चिकित्सकहरूले वीरगंज सहित बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाही जिल्लाका बिरामीहरूलाई उपचार सेवा पुर्याउदै आएको छ ।
उद्घाटन कार्यक्रममा वीरगंजका स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी, राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्