सुरु भयो सुकेपोखरी पर्यटन गुरुयोजनाको काम

सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको करिब पाँच करोड रुपियाँ लागत साझेदारीमा बन्न लागेको सुकेपोखरी पर्यटन गुरुयोजनाको काम सुरु गरिएको छ ।
थुलुङ दूूधकोशी–५ जुबुमा अवस्थित सुकेपोखरीको पर्यटन गुरुयोजना अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन करोड रुपियाँ र स्थानीय सरकारले दुई करोड रुपियाँको लागतमा निमार्ण हुन लागेको आयोजनाको थुलुङ दूधकोशी गाउँपालिका प्रमुख असिम राईले शिलान्यास गर्नुभएको छ ।
शिलान्यास कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष राईले सुकेपोखरीलाई त्रि–धार्मिक स्थलको रुपमा विकास गर्ने उद्देश्यले किराँत, बौद्ध र हिन्दु धर्मावलम्बीको लागि विभिन्न संरचना निर्माण गरिने बताउनुभयो । त्यस स्थानमा किराँत, बौद्ध र हिन्दु धर्मावलम्बीको लागि मन्दिरहरू निर्माण गरिनेछ उहाँले जानकारी दिनुभयो ।
जिल्लाको तल्लो क्षेत्रको पर्यटन विकासमा सम्भावना बोकेको ऐतिहासिक तथा मनोरम ठाउँ सुकेपोखरीको बृहत्तर विकासको लागि धेरै महत्त्वपूर्ण हुने अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले स्थानीय सरकार गठनको पहिलो बर्ष नै सुकेपोखरीको गुरुयोजना बनाएर व्यवस्थित बनाउनका लागि काम अघि बढेको उहाँले जानकारी दिनुभयो । पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको सुकेपोखरीमा खोटाङको हलेसी महादेवस्थानमा दर्शनका लागि आउने दर्शनार्थीहरुलाई सुकेपोखरीसम्म ल्याउने हिसाबले संरचनाको निर्माण गर्न लागेको अध्यक्ष राईले बताउनुभयो ।

सुकेपोखरीलाई त्रि धार्मिक पर्यटकीय क्षेत्र बनाउने भएपछि स्थानीयमा खुसी छाएको स्थानीय खुसी भएका छन् । यसले गाउँको विकास तथा रोजगारी सिर्जना हुनुका साथै आन्तरिक पर्यटनमा टेवा पुग्ने स्थानीय प्रेमकुमार राईको भनाइ छ ।
गाउँपालिकाको ४, ५ र ९ नम्बर वडाको मुख्य क्षेत्रमा पर्ने सुकेपोखरीमा स्वदेशी तथा विदेशी पर्यटक प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ । यो क्षेत्रको निर्माणसँगै आन्तरिक एवं बाह्य पर्यटनको केन्द्र बन्नुका साथै स्वर्ण सगरमाथा पर्यटन मार्गसँग जोडिएर मुख्य आकर्षणको केन्द्र बन्ने बताइन्छ ।
परियोजनाको लागि त्रिभुवन विश्वविद्यालयका भुगर्वविदहरुको टोलीले स्थलगत अध्ययनको रिपोर्ट, बृहत् प्राविधिक अध्ययन एवं समग्र स्थितिको अध्ययन तयार पारिएको ’डिपिआर’ अनुसार काम सुरु भएको गाउँपालिकाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्