पर्सा काँग्रेसद्वारा प्रशिक्षणका लागि वडा प्रतिनिधि छनौट तीव्र
बीरगंज । चुनावी प्रचार अभियान अगाडी बढाउन नेपाली कांग्रेस पर्साले पालिकाका प्रत्येक वडामा प्रशिक्षणका लागि प्रतिनिधि छनौट गर्ने कार्य तीव्र रुपमा अगाडी बढाएको छ ।
आइतबारदेखि एक महिनासम्म काँग्रेसले स्थानीय चुनाव केन्द्रित प्रचार अभियान शुरु गरेको भए पनि यता पर्सा लगायतका तराईका जिल्लाहरूमा यो अभियान होली पर्व पछाडि शुरु गरिने नेपाली काँग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्रीले जानकारी दिनुभयो ।
‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा नेपाली कांग्रेस केन्द्रिय समितिले जिल्ला प्रतिनिधिको रुपमा धनुषाबाट चन्द्र मोहन यादवलाई पर्सामा खटाएको छ ।
अहिले नेपाली काँग्रेस पर्सा जिल्ला समितिले चुनावी प्रचार प्रसार अभियानलाई तीव्रता दिन प्रत्येक पालिकाको बुथ–बुथ, वडा–वडामा पुगेर वडा प्रतिनिधि छनौट गरी रहेको सभापति क्षेत्रीले जानकारी दिनुभयो । प्रचार अभियानमा सङ्गठन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ ।
जनताको गुनासो सुन्ने र काँग्रेसले गरेका सुधारका कार्य सुनाउने कार्य अभियानमा हुनेछ । भेला, प्रशिक्षण, सम्मान लगायत कार्यक्रम पनि अभियानमा समेटिएको नेपाली कांग्रेस पर्साका सभापति क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यकर्तालाई भूमिका दिएर प्रचारमा खटाउने काँग्रेसले नीति लिएको छ । पदीय जिम्मेवारी पाएर पनि भूमिका नभएको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढेपछि काँग्रेसले सबै कार्यकर्तालाई सक्रिय र परिचालन गर्न ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गर्न लागेको कांग्रेस सभापति क्षेत्रीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्