व्यवसायमैत्री वातावरण निर्माणको पक्षमा सरकार : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर ढङ्गले लागेको बताउनुभएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घको २३औँ साधारण सभा एवं १२औँ अधिवेशनको अवसरमा उहाँले निर्माण उद्योग व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत सुधारलगायत सहजीकरणको कामलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
गृहमन्त्री खाँणले निर्माण उद्योगको उत्थानका लागि सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनसँगै खरिद ऐन नै संशोधन गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । सदन सञ्चालन भएसँगै खरिद ऐन संशोधनका लागि सरकारले प्रयास गर्ने मन्त्री खाँणको भनाइ थियो ।
निर्माण उद्योग मुलुकको धरोहर हो भन्दै मन्त्री खाँणले भन्नुभयो, “निर्माण उद्योगका लागि अत्यावश्यक सुरक्षा दिन सरकार सधैँ तयार छ ।” एमसिसी परियोजना भौतिक पूर्वाधार विकास विस्तारसँग प्रत्यक्ष सम्बन्धित भएकाले त्यस परियोजना पारित गरेर सरकारले ऐतिहासिक काम गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनले मुलुकको मुहार नै फेर्ने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकार ठुला मात्र नभएर साना निर्माण व्यवसायीको हकहितका लागि पनि प्रतिबद्ध रहेको मन्त्री यादवले बताउनुभयो ।
निर्माण जगत्ले नै मुलुकलाई प्रतिबिम्बित गर्ने भएकाले निर्माण व्यवसायीले ‘लो बिडिङ’ तर्फ नगई गुणस्तरीय कार्य गर्नुपर्ने मन्त्री यादवले बताउनुभयो ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले खरिद कानुनमै परिवर्तन गरी निर्माण उद्योगलाई व्यवस्थित बनाइनुपर्ने धारणा राख्नुभयो । योजना छनोटदेखि ड्रइङ, डिजाइनमा नै धेरै त्रुटि रहेको बताउँदै मन्त्री झाँक्रीले निर्माण कार्य गुणस्तरीय नहुँदा सबैभन्दा सास्ती जनताले भोग्नुपर्ने बताउनुभयो ।
सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनले व्यवसायीले मागेभन्दा बढी मागको सम्बोधन गरेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरमा नै इन्धनमा मूल्यवृद्धि भइरहेको उदाहरण दिँदै उहाँले मूल्यवृद्धि सरकारको नियन्त्रणमा नरहेको बताउनुभयो ।
सांसद तथा नेपाल निर्माण व्यवसायी महासङ्घका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले साना ठुला सबै व्यवसायीको समस्या एकै हो भन्दै सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनले समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधन पारित गरेकामा सरकारप्रति आभार व्यक्त गर्दै अब निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
इन्धनमा भइरहेको भारी मूल्यवृद्धिले निर्माण उद्योग धराशायी भएको बताउँदै उहाँले यही अवस्थामा उद्योग अघि बढ्न नसक्ने बताउनुभयो । एमसिसी पास भएबाट निजी क्षेत्र उत्साहित रहेको उहाँको भनाइ थियो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले निर्माण उद्योगमैत्री ऐन कानुनको अभाव र आकासिँदो महँगीका कारण निर्माण उद्योग ठूलो मारमा रहेको बताउनुभयो । महासङ्घको साधारण सभा तथा अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । रासस








प्रतिक्रिया राख्नुहोस्