सङ्खुवासभाको दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्खुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा आज यात्रुवाहक बस भीरबाट खस्दा ठूलो मानवीय क्षति हुने गरी भएको सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपतिले सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बा४ख ७३५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनु भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ । उहाँले पछिल्ला सडक दुर्घटनाको उचित छानबिन गरी सो छानबिन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराउनुभएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्