तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको फलाम खानीमा वायु ऊर्जा अलपत्र

पर्वत । पर्वतको एक विकट गाउँमा विद्युतको माग पूरा गर्न करोडौँको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ । महाशिला गाउँपालिका–६ फलाम खानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मत सम्भारको अभावमा अलपत्र बनेको हो । विसं २०६० मा स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय–समयमा मर्मत सम्भार अभावमा अलपत्र अवस्थामा गुज्रिएको छ । 

त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयवासीले मर्मत गर्न माग गरेका छन् । दैनिक जसो बढ्दै गएको विद्युत्को मागलाई पूर्ति गर्न स्थानीय बासिन्दाले वायु ऊर्जा मर्मतका लागि माग गरेका हुन् । २०६३ सालमा सो केन्द्र नै बन्द भएको थियो । टिटीबिजी नामक संस्थाले एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो । तर संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि आयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय शिक्षक गोविन्द विश्वकर्माले बताउनुभयो । 

केही उपकरण अझै पनि प्रयोग गर्न मिल्ने भएकाले सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलाम खानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । फलाम खानी, भँगरालगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् । 

हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने बताइएको छ । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्न जिल्ला समन्वय समिति, सम्बन्धित पालिका तथा ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक प्रतिवेदन अनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् हावाबाट उत्पादन गर्न सकिन्छ । 

उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलमखानी करिब ४०० घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासीको भनाइ छ । महाशिला गाउँपालिकाले वायु ऊर्जा आयोजनालाई व्यवस्थापन गर्ने योजना बनाएको छ । यसका बारेमा अध्ययन गरी पुनः सञ्चालन गर्ने वा त्यहाँ भएका उपकरणहरूको व्यवस्थापनबारे निर्णय गरिने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button