तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक हिमपातले आलु बिग्रिने चिन्ता

दोलखा । आलुको लागि देशभरिकै उत्कृष्ट थलो ठानिएको दोलखा शैलुङ गाउँपालिका वडा नम्बर– ८ झोर र मनगाँउका किसानहरूमा अहिले अलिअलि खुसी अनि अलिअलि चिन्ता देखिएको छ ।

यो वर्ष पुस/माघमा अत्यधिक हिमपात भएपछि आलु खेती सप्रिने आशमा धेरै किसानहरू खुसी छन् । तर आलु रोपिसकेका केही किसानहरूलाई अत्यधिक हिमपातका कारण बिउ कुहिने हो की भन्ने पिरलोले चिन्तित बनाएको छ – झोरका स्थानीय किसान दिपेश श्रेष्ठले बताउनुभयो ।

शैलुङ– ८ को झोर गाउँ अन्य ठाउँको तुलनामा अलि सेपिलो भएकोले चाँडै आलुको बिउ लगाइएको स्थानीय किसानहरू बत्ताउँछन् । दुई/तीन पटक हिमपात हुँदा आलु उत्पादन राम्रो हुने थियो तर यो वर्ष अत्यधिक हिमपात भएकाले बिउ कुहिने चिन्ता थपिएको छ– स्थानीय दिपेश श्रेष्ठले बताउनुभयो ।

झण्डै ६५ घर धुरी रहेको झोरका किसानहरूले वर्षमा एक करोड भन्दा बढी आलु बिक्री गर्दै आइरहेका छन् ।
वडा नम्बर– ८ कै मनगाँउका ३०/३५ घर धुरीका किसानले पनि आलुको बिउ लगाई सकेका छन् । उनीहरूलाई पनि बिउ कुहिएर उत्पादन घट्ने चिन्ता रहेको मनगाँउका स्थानीय किसान शोभित श्रेष्ठ बताउनुहुन्छ ।

यो मौसममा २/३ पटक हिमपात हुँदा आलु उत्पादन धेरै राम्रो हुन्छ तर यो वर्ष ६/७ पटक नै हिमपात भएकोले आलु उत्पादन घट्ने हो कि भन्ने चिन्ता थपिएको छ – स्थानीय शोभित श्रेष्ठले भन्नुभयो । मनगाँउमा झण्डै ८० घर धुरी रहेको र वर्षको एक करोड भन्दा बढीको आलु बिक्री गर्दै आएको शोभितले बताउनुभयो । आलुको बिउ लगाउन बाँकी रहेका किसानहरूलाई भने अत्यधिक हिमपातले खुसी बनाएको शोभितले बताउनु भयो ।

काठमाडौँ लगायत देशको विभिन्न ठाउँमा मुडेको आलु भन्दै बिक्री वितरण हुने धेरै आलु शैलुङ – ८ को झोर र मनगाँउबाटै जाने गरेको स्थानीय किसानहरू बत्ताउँछन् ।

साउन अन्तिमसम्म आलु खनिसकेपछि काउली लगाउन भने अत्यधिक हिमपातले फाइदा पुग्ने स्थानीय किसानहरूको भनाई छ । झोर र मनगाँउका किसानहरूले वर्षमा दुई करोड भन्दा बढीको काउली बिक्री गर्दै आएका छन् । आलु र काउली गरेर झोर तथा मनगाँउबाट मात्र चार करोड भन्दा बढीको तरकारी निर्यात हुने गरेको स्थानीय किसानहरूको भनाई छ ।

झोर र मनगाँउमा आलु धार्नीको ८० देखि एक सय रुपैयाँसम्म र काउली केजीको १५/२० रुपैयाँमा बिक्री हुने गरेको छ । झोर र मनगाँउमा एक परिवारले आलु र काउली गरी सामान्यतया दुई लाख देखि ४/५ लाखसम्मको तरकारी बिक्री गर्दै आएका छन् । शैलुङ गाउँपालिकाको पहलमा गाँउमा सडकको विस्तार तथा किसानहरूलाई विभिन्न सहयोग प्राप्त भएकोले केही सहज बनेको स्थानीयको भनाई छ । पालिकाले सडकको स्तरवृद्धि र बजार व्यवस्थापनको लागि सहयोग गरिदिए थप सहज हुने उहाँहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button