तनहुँमा २५ करोडको सुन्तला उत्पादन

तनहुँ । तनहुँमा यस वर्ष २५ करोड बढीको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका विभिन्न स्थानमा रहेका ब्लक र बगैँचामा उत्पादन भएको सुन्तला विक्रीबाट २५ करोड बढी आम्दानी भएको जानकारी दिएको छ ।
यहाँका छ वटा सुन्तला उत्पादन हुने ब्लक र किसानको विभिन्न बगैँचामा गरी ८ हजार ५ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रकी कृषि अर्थ विज्ञ प्रकृति न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले जिल्लामा १ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको जनाउँदै १ हजार ४ सय ५० हेक्टरमा उत्पादन हुँदै आएको बताउनुभयो ।
जिल्लामा सुन्तला उत्पादनका लागि विभिन्न क्षेत्रमा रहेको सुन्तला पकेट क्षेत्रलाई ब्लकको रुपमा विस्तार गरी प्रवर्द्धन गर्न थालिएको छ ।

यहाँको म्याग्दे गाउँपालिका २ उमाचोकमा रहेको सुन्तला उत्पादक ब्लक समिति, शुक्लागण्डकी नगरपालिका ११ नाम्सीकोटको सुन्तला जात फलफूल उत्पादक ब्लक सञ्चालक समिति, व्यास नगरपालिका १३ मा रहेको सुन्तला ब्लक समिति, देवघाट गाउँपालिकामा घण्टाचुली बहुउद्देश्यीय कृषक समूह र आँबुखैरेनी गाउँपालिकामा पतेनी सुन्तला उत्पादक कृषक समूह सुन्तला खेती र उत्पादनमा सक्रिय रहेको छ ।
जिल्लामा कृषि ज्ञान केन्द्रले समेत वर्षेनी सुन्तला उत्पादनको सम्भावित क्षेत्रका कृषकलाई आवश्यक तालिम सहित बिउ बिरुवा अनुदान लिएर सुन्तला खेती तर्फ आकर्षण बढाउँदै आएको छ । ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले सुन्तला ब्लक प्रवर्द्धन गर्न कृषकमैत्री कार्यक्रमहरू सञ्चालन हुने गरेको जानकारी दिनुभयो ।

तिवारीले बर्षेनी जिल्लामा सुन्तला उत्पादनका लागि क्षेत्र विस्तार र कृषकका आवश्यक उत्पादन सामाग्रीमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा केन्द्रका पहलमा ऋषिङ गाउँपालिका –३ मा पनि सुन्तला उत्पादन ब्लक निर्माण गरिएको बताउनुभयो ।
वर्षेनी करोडौँ मूल्य बराबरको सुन्तला देशका प्रमुख शहरमा खपत हुने गरेको छ । यहाँबाट मध्यस्थकर्ताहरूले काठमाडौँ पोखरा, नारायणगढ लगायतका प्रमुख शहरमा पुर्याउन गरेको उमाचोक सुन्तला उत्पादन ब्लक समितिका अध्यक्ष निर्मल अधिकारीले जानकारी दिनुभयो ।
एउटा ब्लकमा करोडौँ आम्दानी
जिल्लाका अधिकांश सुन्तला उत्पादक कृषकहरूको ब्लकमा यस बर्ष दुई देखि पाँच करोडसम्म आम्दानी भएको छ । सुन्तलाको फल लाग्ने समयमा आवश्यक मात्रामा वर्षा हुनुका साथै कम असिना परेपछि कृषकले कम क्षति व्यहोरेका थिए ।
गत वर्ष उत्पादित सुन्तलाको राम्रो बजार भाउ पाउन नसकेका कृषकहरूले यस वर्ष होलसेलमै ९० देखी एक सय १० रुपैयाँप्रति किलोसम्म मूल्य पाएपछि राम्रा आम्दानी लिन सफल भएका हुन् ।
म्याग्दे गाउँपालिकामा रहेको उमाचोक सुन्तला उत्पादक ब्लक समूहका अध्यक्ष अधिकारीले आफूहरूले यस बर्ष पाँच करोड बढी आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो । यहाँ एक सय ५५ कृषकहरूले समूहमा निर्माण गरी ब्लक सञ्चालन गर्दै आएका छन् ।
यस्तै व्यास नगरपालिका १३ मा रहेको ब्लकबाट मात्र यस बर्ष दुई करोड ५० लाख बढीको सुन्तला विक्री भएको छ । ब्लक सञ्चालक समितिका अध्यक्ष खेमबहादुर थापाले गत वर्षभन्दा यस बर्ष दोब्बर मूल्य परेकाले कृषकले राहत महसुस गरेको बताउनुभयो । उहाँका अनुसार कृषकले गत बर्ष प्रतिकिलो ६५ रुपैयाँ मात्र मूल्य पाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्