तपाईँ सुन्दै हुनुहुन्छः

द्रुतमार्ग निर्माणका विषयमा सरोकारवालासँग समितिको छलफल 

काठमाडौँ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरोकारवाला पक्षहरूलाई बोलाएर काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणका विषयमा छलफल गरेको छ । 

सिंहदरबारमा आज समितिले द्रुतमार्ग निर्माणका लागि आवश्यक पर्ने बजेट, समयसीमा र चुनौतीहरूका विषयमा सरोकारवाला पक्षहरूसँग छलफल गरेको हो ।

बैठकमा रक्षा सचिव किरणराज शर्माले मुलुकको शाखःसँग जोडिएको द्रुतमार्ग निर्माण गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

द्रुतमार्ग निर्माण आयोजनाका प्रमुख एवम् नेपाली सेनाका सहायक रथी विकास पोख्रेलले तोकिएकै समयसीमा आर्थिक बर्ष २०८०÷०८१ भित्रै सक्नेगरी काम अघि बढाइएको जानकारी दिनुभयो । 

उहाँले द्रुतमार्गको ११ वटा प्याकेजमध्ये ५ वटाको टेण्डर भएर प्रक्रिया अघि बढेको र बाँकी प्याकेजको पनि वैशाख महिनासम्ममा टेण्डर सक्नेगरी काम भइरहेको बताउनुभयो । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल र अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले द्रुतमार्ग निर्माणमा बजेटको कुनै अभाव नरहने प्रतिबद्धता जनाउँदै निर्माण प्रगतिमा जोड दिनुपर्ने बताउनुभयो । 

भ्याटसहित एक खर्ब ७५ अर्ब लागतमा निर्माण गर्न लागिएको द्रुतमार्ग आगामी आर्थिक बर्ष २०८०/०८१ मा सम्पन्न गर्ने समयसीमा तोकिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button