हिमपातले अवरुद्ध लामोसाँगु–जिरी सडक १७ घण्टापछि सञ्चालन

दोलखा । दोलखाको खरीढुङ्गामा शुक्रवार बिहानैदेखि बाक्लो हिमपात भएपछि बेलुकाबाट अवरुद्ध बनेको लामोसाँगु–जिरी सडक झन्डै १७ घण्टापछि शनिवार बिहान ११ः०० बजेबाट सञ्चालनमा आएको छ ।
शुक्रवार साँझ ६ बजेबाट अवरुद्ध भएको सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहल गरेको भए पनि हिमपात जारी रहेकोले सम्भव भएको थिएन ।
आज बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हिउँ पन्छाएर ११ः०० बजेबाट दुवै तर्फबाट सडक सञ्चालन गरिएको सशस्त्र प्रहरी बल चरिकोटका प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जनले बताउनुभयो ।

बाक्लो हिमपातले लामोसाँगु जिरी सडकको मुढे– खरीढुङ्गा सडक खण्ड अवरुद्ध बनेपछि थुप्रै ठुला तथा साना सवारी साधनहरू रोकिएका थिए । सवारी साधन रोकिएपछि काठमाडौँ तथा देशका विभिन्न ठाउँबाट दोलखा, रामेछाप लगायतका जिल्लामा जान आएका सयौँ यात्रुहरू अलपत्र परेका थिए ।
दोलखा सदरमुकाम चरिकोटमा पनि धेरै वर्षपछि शुक्रवार झन्डै आधा घण्टा हिमपात भएको थियो । दिउँसो २ः०० बजेबाट झन्डै आधा घण्टा हिमपात भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्