हिमपातका कारण चरिकोटमा अत्यधिक चिसो बढ्यो

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा निक्कै वर्षपछि शुक्रवार झन्डै आधा घण्टा हिमपात भएको छ ।
दिउँसो २ बजेबाट झन्डै आधा घण्टा हिमपात भएको थियो ।
हिमपातका कारण चरिकोट बजारमा अत्यधिक चिसो बढेको छ । बजार क्षेत्रमा हिउँ नदेखिए पनि बजारभन्दा माथितिर हिउँले सेताम्य भएको छ ।
१ हजार ९ सय ७० मिटरको उचाँईमा रहेको चरिकोटमा दुई वर्षअघि सामान्य हिमपात भएको थियो । शुक्रवार भने पटक– पटक गरी आधा घण्टाभन्दा बढी समय हिमपात भएको स्थानीयले बताएका छन् ।
दोलखाको खरीढुङ्गा क्षेत्रमा अत्यधिक हिमपात भएपछि काठमाडौँबाट दोलखा र रामेछापको विभिन्न ठाउँमा जाने यातायातका साधनहरू केही समय अवरुद्ध भएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको पहलमा अवरुद्ध यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ ।
दोलखाको कालिन्चोक, सैलुङ र खावाडाँडा क्षेत्रमा पनि अत्यधिक हिमपात भएको स्थानीयले बताएका छन् ।
३ हजार ८ सय ४२ मिटरको उँचाइमा रहेको कालिन्चोक क्षेत्रमा माघ महिनामा मात्र चार पटक हिमपात भइसकेको छ ।

दुई हप्ताको बीचमा चार पटक हिमपात भएपछि कालिञ्चोकको कुरी, मन्दिर रहेको टाँपु, गणेशथुम्का, गैरीलगायत सबैतिर सेताम्य भएको स्थानीय होटल व्यवसायीहरू बताउँछन् ।
हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिञ्चोकमा कोरोना संक्रमण बढ्दै गएकोले खासै पर्यटक नदेखिएको कुरीमा सञ्चालित होटल सुनपातिका विमल ओझाले बताउनुभयो ।
माघ महिनामा पटक पटक हिमपात भएपछि सैलुङ क्षेत्रमा पनि पर्यटक बढेका छन् । हिमपातपछि आलु खेती राम्रो हुने भएकोले स्थानीय किसान खुसी भएको सैलुङ– ८ झोरका सन्दीप श्रेष्ठले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्