कर्णाली प्रदेश सभाको चौथो वार्षिक उत्सव विविध कार्यक्रमसहित मनाइयो

सुर्खेत । कर्णाली प्रदेश सभाले विविध कार्यक्रम गरी आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ ।
कोभिड–१९ का कारण यस वर्ष भर्चुअलरुपमा स्थापना दिवस मनाएको प्रदेश सभाले वार्षिक उत्सवको अवसर पारेर साना–साना कार्यक्रम मार्फत पुस्तक विमोचन, निबन्ध प्रतियोगिता, ब्याड्मिन्टन प्रतियोगिता लगायतमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई नगद पुरस्कृतसहित प्रमाणपत्र प्रदान गरेको हो ।

प्रदेश सभाले वार्षिक उत्सवकै अवसर पारेर उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई समेत पुरस्कृत गरेको छ । उत्सवको अवसरमा शुभकामना दिँदै प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश प्राप्तिका लागि शहादत प्राप्त गर्ने शहीदको सपनालाई साकार गर्न सदन, सरकार र नागरिक स्तरबाट समाजवाद उन्मुख अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले कर्णालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत सशक्त र समृद्ध बनाउन प्रदेशवासीले आफ्नो भूमिका थप बढाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा कर्णाली प्रदेश सभामुख राजबहादुर शाहीले प्रदेशमा हालसम्म ३८ वटा कानून निर्माण भई केही कानून निर्माण प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय राजनीतिमा परेको प्रभाव कर्णाली प्रदेश सभामा परेपनि पछिल्लो समय राजनीति दलहरू बीचको सहमति, सहकार्य र आपसी समन्वय गर्दै अघि बढ्ने समझदारी अनुरूप बाँकी कामलाई छिट्टै मूर्तरूप दिने तयारी भएको बताउनुभयो ।
त्यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको समृद्धिका लागि बाँकी कार्यभार पुरा गर्न सबै राजनीति दलहरूलाई साथ लिएर अघि बढ्ने धारणा व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्