तपाईँ सुन्दै हुनुहुन्छः

पुल बनेसँगै एक घण्टाको यात्रा दुई मिनेटमा 

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा नेपालको दोस्रो अग्लो उचाइ सहितको झोलुङ्गे पुल निर्माण भएको छ । 

आँबुखैरेनी गाउँपालिकाको १ मा पर्ने समस्तीपुर र बरडाँडालाई जोड्ने गरी खुदी खोलामा सतहबाट  दुई सय ७५ मिटर उचाइमा पुल निर्माण भएको हो । 

दुई सय २० मिटर लामो यो पुल बनेसँगै यहाँका स्थानीयले एक घण्टाको दुरी दुई एक मिनेटमा नै पार गर्न सक्ने भएका छन् । 

गण्डकी प्रदेश सरकारको एक करोड ३० लाख आर्थिक सहयोगमा पुल निर्माण भएको पुल निर्माण समितिका अध्यक्ष ईश्वर गौलीले जानकारी दिनुभयो । 

खुदी खोलाको खोल्सा वारी–पारी रहेका यी दुई गाउँबीच मेलापात र लेनदेन हुँदै आए पनि आवतजावत गर्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । 

दुई गाउँका स्थानीयलाई पुलले सुविधा प्रदान गरेको वडा – १ का वडाध्यक्ष किसन थापाले बताउनुभयो । उहाँले पुल निर्माण भएसँगै समस्तीपुरका कृषकको उत्पादन बजारीकरणमा पनि सहज भएको बताउनुभयो । 

तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा मानिएको समस्तीपुरका कृषक यसअघि बरादी बजारसम्म उत्पादन ढुवानीका लागि समस्या खेप्दै आएका थिए । 

दुई गाउँलाई जोड्ने गरी अग्लो स्थानमा पुल बनेसँगै पछिल्लो समय यहाँ घुम्न र फोटो खिचाउन आउनेहरूको आकर्षण बढ्न थालेको पुल निर्माण समितिका अध्यक्ष गौलीले जानकारी बताउनुभयो । 

गौलीले देशका विभिन्न स्थानबाट आउने आन्तरिक पर्यटकहरूको सङ्ख्या बिदाको दिन चार सयभन्दा माथि पुग्ने गरेको बताउनुभयो । 

ग्रामीण क्षेत्रको रुपमा रहेको यहाँ पर्यटकको चाप बढ्न थालेसँगै स्थानीयले होटल व्यवसाय गरेर राम्रो आम्दानी समेत लिन थालेका छन् । यहाँ अहिले वारि र पारी गरी पाँच वटा होटल स्थापना भइसकेको छ । 

यो पुल पर्वत कुस्मामा रहेको पुलको उचाइभन्दा एक सय ९ मिटर अग्लो र मनाङको नासो गाउँपालिकास्थित ड्रोन खोलाको पुलभन्दा एक सय ३७ मिटर कम उचाइमा रहेको छ । 

नेपालमा सबैभन्दा अग्लो पुल मनाङको नाचे गाउँ र थोचेँ गाउँ जोड्न पुल हो । यो पुलको उचाइ सतहबाट चार सय १२ मिटर उचाइमा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button