तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा किसानको करिब १० हजार क्विन्टल मसिनो धान व्यापार कम्पनीद्वारा खरिद

जनकपुरधाम । नेपाल सरकारले किसानको धान खरिद गर्ने निर्णय गरे अनुसार जनकपुरधामको खाद्य व्यवस्था व्यापार कम्पनी प्रदेश नंं २ को कार्यालयले सोना मंसुली धान खरिद गरिरहेको छ ।  

प्रति क्विन्टल २ हजार ९ सय २ रुपैयाँमा खरिद गर्ने गरेको कार्यालयका प्रमुख उपेन्द्र लिम्बुले जानकारी दिनुभयो । कोरोना महामारीलाई ध्यानमा राखेर किसानहरूलाई पहिला नै कुपन प्रदान गरेर कुपनको आधारमा खरिद गर्ने काम भएको छ । 

हालसम्म ९ हजार ८ सय क्विन्टल मसिनो धान खरिद गर्ने काम सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । 

स्थानीय तहले वास्तविक किसान भएको सिफारिस गरेको कागजातको आधारमा किसानलाई कम्पनीले कुपन दिएर धान खरिद गर्ने काम भएको दाबी कम्पनीले गरेको छ । तर कम्पनीले विभिन्न साइजको बोरा तथा टायर गाडामा आएको धान खरिद नगरेका कारणले निम्न वर्गका किसानहरू पीडित बनेका छन् । 

ठुला किसानको नाउँमा एक्कै नाशको बोरा तथा ट्याक्टरमा आएका किसानहरूको धान खरिद गर्ने काम गरेकाले केही धानको कारोबार गर्ने व्यवसायीहरूले बिक्री गरेर किसानले पाउने लाभ पाइरहेको किसानहरूले नै जानकारी दिएका छन् । 

उता कम्पनीले आफूहरू स्थानीय वडाले सिफारिस गरेको आधारमा खरिद गर्ने गरेकोले अनियमितता भएको विषयमा कुनै सत्यता नभएको कम्पनीका कार्यालय प्रमुख लिम्बुले जानकारी दिनु भयो । 

नेपाल सरकारले मोटो तथा मसिनो जातको धान खरिद गरेर किसानलाई राहत दिने लक्ष्य लिएको छ । अहिले मसिनो धान बाहिर बजारमा क्विन्टल २ हजार ५ सयमा खरिद विक्री भइरहेको छ । जबकि सरकारले बजार मूल्य भन्दा ४ सय २ रुपैयाँ बढी दिइरहेको छ ।

धानको उत्पादन लागत बढेकाले लागत उठाउन तथा किसानलाई उचित मुनाफा दिनका लागि सरकारले प्रदान गरेको अनुदानको आधारमा कम्पनीले धान खरिद गर्ने काम गरिरहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button