तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा कुष्ठरोगका बिरामी बढ्दै

अछाम । अछाममा कुष्ठरोगको सङ्क्रमण बढ्दै गइरहेको पाइएको छ ।

गत वर्षमा ४० जना कुष्ठरोगका सङ्क्रमित रहेको अछाममा यस वर्ष थप १२ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ । १२ जना नयाँ सङ्क्रमित थपिएसँगै अछाममा सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ ।

परीक्षणको दायरामा आइ खुलेका सङ्क्रमितको सङ्ख्या ५२ पुगे पनि पहिचान हुन बाँकी रहेका अन्य सङ्क्रमित समेत समाजमा रहेको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाको भनाई छ । स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुङ्गानाका अनुसार जिल्लामा बर्सेनि कुष्ठरोगका सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले रोग न्यूनीकरणमा चुनौती थपिएको छ ।

कुष्ठरोग सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आए पनि गाउँघरमा कुष्ठरोगका सङ्क्रमित अझै लुकी छिपी बस्ने गरेका कारण कुष्ठरोगका बिरामीको सङ्ख्यामा कमी आउन नसकेको उहाँले बताउनुभयो ।

कुष्ठरोग सङ्क्रमित बिरामी खुलेर उपचार गर्न नआउनाले पनि जिल्लामा बिरामीको सङ्ख्यामा कमी आउन नसकेको उहाँको भनाई छ । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने भएकाले सामाजिक दुरी कायम गर्नुका साथै अन्य आवश्यक सतर्कता समेत अपनाउनुपर्नेमा ढुङ्गानाले जोड दिनुभयो ।

सुदूरपश्चिमको तथ्याङ्क अनुसार सबै भन्दा बढी कुष्ठरोग सङ्क्रमित भएको दोस्रो जिल्लामा अछाम रहेको उल्लेख गर्दे उहाँले जिल्लामा कुष्ठरोगको समस्यालाई न्यूनीकरण गर्नको लागि प्रत्येक स्थानीय तहमा बिरामीको पहिचानका लागि जिल्ला स्वास्थ्य कार्यालय योजना सहित अगाडि बढेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button