विकासमैत्री संरचना र नीतिको अभाव: अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताउनुभएको छ ।
आइतबार अर्थ मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा अर्थमन्त्री शर्माले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नभएका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउने बारे सहमति नहुँदा सरकारसँगै आर्थिक नीति पनि परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफलमा विज्ञहरूले तथ्याङ्कका आधारमा मुलुकको अर्थतन्त्र धराशायी भई नसकेको यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाउनुभयो ।
विदेशी मुद्रा सञ्चितिका लागि भुक्तानी सन्तुलनको स्थिति नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उहाँहरूको सुझाव थियो ।
यस्तै कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायतका सुझाव समेत अर्थ विदहरूले दिनुभएको थियो ।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शङ्कर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य अर्थ शास्त्री डा. रामकुमार फुयाँल र अर्थशास्त्री हरि रोक्का लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्