कालिकोटमा पहिलो पटक इँटा उद्योग सञ्चालनमा
मान्म । कालिकोटमा इँटा उद्योग सञ्चालनमा आएको छ । जिल्ला बाहिरबाट इँटा ल्याउनुपर्ने बाध्यता हटाउनका लागि यहाँ इँटा उद्योग सञ्चालनमा ल्याएको हो ।
कर्णालीका हिमाली जिल्ला जुम्ला, मुगु, कालिकोट र दैलेखलाई लक्षित गरेर कालिकोटमा पहिलो पटक इँटा उद्योग सञ्चालनमा आएको छ । जिल्लाको तिलागुफा नगरपालिका–९ चिल्खायाका चार जना स्थानीय युवाले सो उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
करिब रु ३० लाखको लागतमा सो उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज शाहीले बताउनुभयो । “इँटा उत्पादन सुरु भएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म करिब एक लाख ५० हजार इँटा उत्पादन भइसकेको छ । अब बिक्रीका लागि मागअनुसार उत्पादन गर्ने तयारीमा छौँ ।”
छिटो, छरितो, आकर्षक र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि यो इँटा निकै उपयोगी रहेको उद्योग सञ्चालक शाहीको भनाइ छ । रातो इँटाको लागत प्रतिइँटा रु २४÷२५ पर्ने उहाँको भनाइ छ । सो उद्योगमा २७ जनाले रोजगारी पाएका छन् ।
तराईका जिल्लाबाट ढुवानी गरी ल्याउँदा महँगो पर्ने भएकाले यहाँ उत्पादित इँटा प्रयोग गर्दा सहज र सस्तो हुने उद्योग वाणिज्य सङ्घ कालिकोटका अध्यक्ष रतनबहादुर शाहीले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्