मकवानपुर गढीको २५९ औँ विजय उत्सव मनाइयो
मकवानपुर । नेपाल एकीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुर गढीमा आज २५९ औँ विजय उत्सव मनाइएको छ । ऐतिहासिक मकवानपुर गढी विजय उत्सव मूल समारोह समितिको आयोजनामा २५९ औँ विजय उत्सव मनाइएको हो ।
साँढे दुई सय वर्षअघि यही स्थानबाट अङ्ग्रेजको फौजलाई गोर्खाली फौजले पराजित गरेको सम्झनामा हरेक वर्ष माघ १० गते मनाइने विजय उत्सव यो वर्ष भने कोभिडका कारण स्वास्थ्य मापदण्ड अपनाएर सामान्य तरीकाले मनाइएको छ ।

सेनवंशी मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेनले मकवानपुर गढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइ हारेपछि बङ्गालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न पुगेका थिए । नबाव अलीको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुर गढीमा विक्रम सम्वत १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।
मकवानपुर गढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दह चोकबाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएकाले सोही दिन जीत हासिल गरिएकोले विजय उत्सव मनाउने गरिएको हो ।
पृथ्वीनारायण शाहले त्यति बेला श्रीनाथ गण, सवुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिवक्स गण गठन गरेका थिए । बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब १७ किमी पूर्वमा मकवानपुर गढी गाउँपालिका–२ मा गढी दरबार क्षेत्र रहेको छ ।
विसं १६१० मा सेन वंशीय राजाको शासनकालमा गढी निर्माण भएको इतिहासमा उल्लेख रहेको छ । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो । करिब १३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो गढीको रुपमा चिनिन्छ ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँको सभाध्यक्षता एवम् प्रतिनिधि सभा क्षेत्र १ का सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा विजय उत्सव कार्यक्रम भएको हो ।
त्यस अवसरमा मकवानपुर गढी र नेपाली सेना सम्बन्धको शिला पत्र बोर्ड र राष्ट्रिय झण्डात्तोलन गरिएको छ ।
कार्यक्रममा २८ नम्बर बाहिनी प्रमुख सेनानी भाइकाजी थापा, पुरानो गोरख गणका निमित्त गणपति गुणराज अधिकारी, गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, सञ्चारकर्मी तथा स्थानीयहरूको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्