मकवानपुर: थप २५ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा शुक्रवार थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७५ जनाको कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरको प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ जनाको परीक्षण गर्दा ९ जना र एन्टिजेन विधिबाट ६४ जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुने सङ्ख्या १५ हजार ८८० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५ हजार ३४१ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितमध्ये ४ जना संस्थागत आइसोलेसनमा र २९८ जना होम आइसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरको प्रमुखमा गुरागाईँ
यसैबिच स्वास्थ्य कार्यालय मकवानपुरको प्रमुखमा भीमसागर गुरागाईँ नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुरागाईँलाई स्वास्थ्य कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।

शुक्रवार निमित्त कार्यालय प्रमुख गुरागाईँलाई कर्मचारीले स्वागत गर्दै पदस्थापन गराएका छन् । थाइल्यान्डबाट पब्लिक हेल्थमा स्नातकोत्तर उत्तीर्ण गुरागाईँ जनस्वास्थ्य अधिकृत (सातौँ तह) हुनुहुन्छ ।
यसअघिका कार्यालय प्रमुख प्रणय उपाध्यायको अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखको पद रिक्त रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्