ओमिक्रोन बढी सङ्क्रामक : खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह

चितवन । कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरूमा यसको जोखिम बढी हुने चिकित्सकहरूले बताएका छन् ।
खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरूको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताउनुभयो ।
अहिलेसम्मको अध्ययनले खोप लगाएको तर ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको छ भने खोप नलगाएको व्यक्तिमा यसको जोखिम बढी हुने उहाँले बताउनुभयो । चिकित्सक अधिकारीले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा छिटोछिटो फैलिएको छ ।”
२४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको तेस्रो म्युटेसन भेरियन्ट ओमिक्रोन भएको भन्दै उहाँले कुनै पनि भाइरस स्वरूप परिवर्तन अथवा म्युटेसन हुँदा यो बढी गम्भीर भएर जान सक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान पनि सक्छ भन्नुभयो । कोभिडमा भएका अहिलेसम्मका म्युटेसन हेर्दा तुरुन्त हराउने प्रकृतिको नभई स्थिर पान्डेमिकको रुपमा बदलिइरहेर दुःख दिइरहन सक्ने देखिएको उहाँको भनाइ छ ।
ओमिक्रोन सबैभन्दा धेरै म्युटेसन भएर देखिएकाले यसको सर्ने तरिका, गम्भीरता र भ्याक्सिनको प्रभाव फरक हुनसक्ने देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेसम्मको तथ्याङ्कले यो धेरै छिटो फैलन सक्ने, श्वासप्रश्वासको माथिल्लो अङ्ग नाक र स्वाशनलीमा बढी रहने तर फोक्सोको भित्री भागसम्म कम पुग्ने हुनाले गम्भीर निमोनिया कम हुने गर्दछ ।”
यसले गर्दा अस्पताल भर्ना धेरै नहुने तर धेरै जनालाई एकैचोटी सङ्क्रमित गर्न सक्ने देखिएको चिकित्सक अधिकारीको भनाइ छ । खोपले समेत कम सुरक्षा दिन सक्ने भन्दै उहाँले अगाडि थप्नुभयो “खोपले काम गर्ने भाइरसको प्रोटिनमा म्युटेसन भएकाले खोपले कम सुरक्षा दिन सक्ने खतरा देखिन्छ ।” पहिलेको भेरियन्टभन्दा सर्ने अवधि औसत तीन दिन देखिएको बताउँदै उहाँले भन्नुभयो “यो सर्ने समय पहिलेको भेरियन्टभन्दा चाँडो हो ।”
भरतपुर सामुदायिक अस्पतालका फिजिसियन डा महेन्द्र अग्रहरीले खोप लगाउनेलाई भन्दा नलगाएका व्यक्तिलाई यसले छिटो असर गर्ने बताउनुभयो । ज्वरो आउने, नाकबाट हल्का पानी बग्ने, घाँटी खसखसाउने, सुख्खा खोकी लाग्ने, ज्यान दुख्ने, थाक्ने जस्ता लक्षण यो भेरियन्टमा देखिने गरेको उहाँको भनाइ छ । चिकित्सक अग्रहरीले भन्नुभयो, “मौसमी फ्लु जस्तो मानेर मानिस परीक्षण नगरी आफ्नो दैनिकी गरिरहे धेरैलाई सार्न सक्छन् ।” अहिले दैनिक १० प्रतिशतका दरले बिरामी बढ्दै गएको बताउँदै उहाँले यो रोग छिटो सर्ने भएकाले स्वास्थ्य मापदण्ड पालना गर्नसमेत सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहिलाको जस्तो लक्षण नभएकाले कोभिड नदेखिए पनि पिसिआर नेगेटिभ आउँदैमा ओमिक्रोन होइन भन्न सकिने अवस्था छैन ।” जिल्लामा हालसम्म ओमिक्रोनको परीक्षण गर्ने प्रयोगशाला नरहेको बताउँदै उहाँले छिट्टै यस्तो प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । कोभिड विरुद्धको खोप लगाउन छुटेकालाई लगाउन आग्रह गर्दै चिकित्सक अग्रहरीले भन्नुभयो, “यसले मधुमेह, उच्च रक्तचाप र मिर्गौलामा समस्या भएकालाई बढी जोखिम बनाउने हुँदा तत्काल खोप लगाउन आग्रह गर्दछु ।”
धेरैभन्दा धेरैलाई खोपको दायरामा ल्याएर जोखिममा रहेकालाई पहिचान गरी उनीहरूलाई बुस्टर डोज दिन समेत चिकित्सकहरूले सुझाएका छन् । भेला, महोत्सव, मेला, सभा सम्मेलन, भौतिक रुपमा विद्यालय र भीड भाड हुने ठाउँलाई स्मार्ट लकडाउनमार्फत व्यवस्थित गर्न जरुरी रहेको उहाँहरूको भनाइ छ । परीक्षणलाई सजिलो, दायरा फराकिलो र द्रुत रिपोर्टिङको संयन्त्र बनाउँदै अस्पतालमा तेर्सो लहर सामना गर्न व्यापक तयारी गरी विगतमा भएका कमजोरी सच्याउनुपर्ने चिकित्सक अग्रहरीले बताउनुभयो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले खोप नलगाएकामा जोखिम रहेको बताउनभयो । उहाँले भन्नुभयो, “खोप नलगाउनेलाई जोखिम मात्रै नभएर सङ्क्रमण देखिएमा सिकिस्त बन्ने सम्भावना बढी हुन्छ ।” खोप लगाएकाभन्दा नलगाएका बिरामी अस्पताल धेरै आउने गरेको विदेशी तथ्याङ्कले देखाएको छ । खोपले सके रोग रोक्ने नभए गम्भीर बिरामी हुनबाट रोक्ने तिवारीले बताउनुभयो ।
देवघाट क्षेत्र सिल गरिने
पवित्र तीर्थस्थल देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने भएको छ । पुस ३० गते बिहानबाट माघ १ गते बेलुकासम्म देवघाट जाने नाका सिल गर्न लागिएको हो । कोभिडको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले माघे सङ्क्रान्ति मेलामा रोक लगाएको छ ।
माघे सङ्क्रान्तिमा छुट्टै मेला नभएर स्नानका लागि देशभर र भारतबाट समेत भक्तजन आउने गर्दछन् । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले छिमेकी जिल्लाका प्रशासन कार्यालयमा जानकारीका लागि पत्राचार गरिसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “स्नानका लागि भक्तजनले दुःख नहोस् भनेर हामीले पूर्व जानकारी गराइसकेका छौँ ।”
स्थानीय प्रशासनले पूर्वी र पश्चिम नवलपरासी, तनहुँ, रुपन्देही, बारा, पर्सालगायतका जिल्लामा पत्राचारसमेत गरिसकेको छ । कसैकसैलाई स्नान गर्न पाइएला भन्ने लागेर दुःख नपाउन भन्नका लागि आवश्यक जानकारी दिने काम भएको उहाँले बताउनुभयो । देवघाट छिर्ने नाका आँपटारी, रामनगर, ठिमुरा र देवघाटमा सुरक्षाकर्मी राखेर सिल गर्न लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । मेला भर्न अघिल्लो दिनबाट भक्तजन आउने गर्दछन् । अघिल्लो दिन बिहान देवघाटको वेणीमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिन्छ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले जिल्ला प्रशासन कार्यालय चितवनको पत्रअनुसार मेला बन्द गरिएको बताउनुभयो । सो कार्यालयले २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित भएर कार्यक्रम गर्न र मेला, महोत्सव नगर्न सूचना जारी गरेको छ ।
कार्यकारी निर्देशक घिमिरेले मेलाको तयारी गरिएको भए पनि सङ्क्रमण बढेसँगै बन्द गर्नुपरेको बताउनुभयो । देवघाटमा वृद्ध वृद्धा धेरै रहेकाले बाहिरबाट आउने भक्तजनबाट सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “देवघाटमै कल्पबास बसेकाहरूलाई भने दूरी कायम गरी स्नान गर्ने व्यवस्था गरिएको छ ।”
समितिले २० वटा उपसमिति बनाएर मेलाको तयारी गरेको थियो । यस वर्ष ५ देखि ७ लाख भक्तजन आउने अनुमान गरिएको थियो । मकर सङ्क्रान्तिमा देवघाटमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास छ । माघे सङ्क्रान्तिमा देवघाटमा देवतासमेत स्नानका लागि आउँछन् भन्ने मान्यता रहिआएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्