जुम्लामा थपिए १ हजार ४ सयबढी नयाँ मतदाता

जुम्ला । जुम्लामा एक हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । जुम्लामा गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म जुम्लामा सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा एक हजार ४ सय ७६ जना थपिएका हुन् ।
जुम्लामा आठ स्थानीय तह मध्य ६ वटा स्थानीय तहमा मात्रै फोटो सहितको मतदाता नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताउनुभयो । उहाँले भन्नुभयो,“स्थानीय तहमा सङ्कलन भएका भन्दा कार्यालयमा सङ्कलन गरिएको मतदाता सङ्ख्या बढी रहेका छन् । यद्यपि,छुटेका १८ वर्ष पुगेका सबै नागरिकलाई मतदाताको पहुँचमा ल्याउने अपेक्षित लक्ष्य पुरा भएको छैन ।”
जुम्लाका ६ स्थानीय तहमध्ये तिला गाउँपालिकामा २ सय ९३, पातारासीमा ३ सय २३, हिमामा १ सय ३७, तातोपानीमा ३ सय, गुठीचौरमा ३ सय ८ र कनकासुन्दरी गाउँपालिकामा १ सय १५ जना नयाँ मतदाता थपिएको निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो ।मङ्सिर महिनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा ४ सय ५१ जनाले फोटोसहितको मतदाता नामावली भरेका छन् । भने,निर्वाचन कार्यालय जुम्लाबाट ३ सय ४ र इलाका प्रशासन कार्यालय नराकोटबाट २ सय १३ जनाको मतदाता नामावली सङ्कलन भएको छ ।
जसमा १ सय ३१ जान जिल्ला बाहिरका मतदाताले जिल्ला निर्वाचन कार्यालय जुम्लाबाट फोटो सहितको मतदाता नामावली भरेका छन् । जिल्लाका आठै स्थानीय तहमा केन्द्रबाटै १० दिनका दरले पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम आयोजना गरिएको थियो । तर तथ्याङ्क हेर्दा नामावली सङ्कलनमा जुम्ली नागरिकको जुम्लामा मतदाताको निराशाजनक सहभागिता देखिएको छ ।
भने,जुम्लामा थपिएका १४ सय मतदाता सहित ९पुससम्म कायम भएको तथ्याङ्क अनुसार जुम्लाको कुल मतदाता सङ्ख्या ६८ हजार १ सय १४ रहेको छ । जसमा पुरुष ३५ हजार ६ सय ५६ र महिला ३२ हजार ४ सय ५८ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
संविधानअनुसार पदावधि सकिएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले तयारी थालेको हो । कर्णाली प्रदेशमा २९ हजार २२८ जना मतदाता थपिएको आयोगले जनाएको छ ।
आयोगले २०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा चार महिनाअघि मतदाता नामावली सङ्कलन अभियान चलाएको थियो ।







प्रतिक्रिया राख्नुहोस्