नयाँ मोदी लाहाचोक प्रसारण लाइन सञ्चालन
पर्वत । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधवारदेखि सञ्चालनमा आएको छ । लाहाचोकमा १३२/३३ केभी सबस्टेशनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएको हो।
सबस्टेशनबाट कास्कीको माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा बिजुली आपूर्ति गरिनेछ । यसबाट त्यस क्षेत्रको बिजुली आपूर्ति गुणस्तरीय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, पोखराबाट त्यस क्षेत्रमा बिजुली आपूर्तिका लागि लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो ।
अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय बिजुली पाउनेछन् भने चुहावटसमेत घट्नेछ ।आयोजनाअन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैङ्क अफ इन्डियाको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको आयोजनाअन्तर्गत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणाधीन रहेको छ ।
सन् २०१८ जुलाई २१ बाट सुरु भएको यस आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयवासीको अवरोधका साथै वन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्