तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिकामा तीन अर्बको फोहरमैला व्यवस्थापन परियोजना गुम्ने खतरा

कञ्चनपुर । कञ्चनपुरको  भीमदत्त नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गर्न नसकेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने परियोजना अन्योल भएको छ ।  केन्द्रका लागि खोजिएको जग्गामा स्थानीय बासिन्दाले अवरोध गरेपछि नगरपालिकाले जग्गाको टुङ्गो लगाउन नसकेको हो ।

एसियाली विकास बैङ्कको तीन अर्ब ऋण सहयोग अन्तर्गतको यो परियोजनामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणलाई पहिलो शर्तका रुपमा राखिएको छ । केन्द्र निर्माणसँगै नगर क्षेत्रमा ३६ किलोमिटर ढलसहितको पक्की सडक निर्माणका योजना छन् ।

बैङ्कको सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत ६० करोड रुपैयाँमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको योजना अघि सारिएको थियो । फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नगरपालिकाले सबै पार्टीका जिल्ला, नगर र वडासम्मका नेताहरूसित छलफल गरिसकेको छ ।

नगरपालिका कार्यालयमा पटक पटक सर्वदलीय र सर्वपक्षीय छलफल गरिएका छन् । नगर प्रमुख सुरेन्द्र विष्टले सर्वदलीय र सर्वपक्षीय छलफलमा गरिएका सहमति विपरीत स्थानीय स्तरमा अवरोध हुँदा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन समस्या देखिएको बताए। फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नगरपालिकालाई २० बिघा जग्गा आवश्यक पर्छ ।

तर, उक्त क्षेत्रफलको जग्गा प्राप्त नहुँदा समस्या भएको नगर प्रमुख विष्टले बताए । क्षेत्रीय शहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरण अन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अघि बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button