तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा एमालेका तीन सदस्यले रोजे नेकपा (एकीकृत समाजवादी)

कर्णाली । कर्णाली प्रदेशसभामा नेकपा(एमाले) का तीन सदस्यले नेकपा(एकीकृत समाजवादी)का पक्षमा सनाखत गरेका छन् । 

प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गर्नुभएको हो । 

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले तीनै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी दिनुभयो । 

उहाँले हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आबद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको बताउनुभयो । कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई ह्विप उल्लङ्घन गरेको आरोपमा पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो ।

हाल कायम रहेका १६ मध्ये तीन जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको सङ्ख्या १३ मा झरेको छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसको छ, राप्रपाका एक सदस्य छन् भने नवगठित नेकपा (एकीकृत समाजवादी)का तीन सदस्य भएका छन् । 

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ । 

नेकपा(एकीकृत समाजवादी) रोज्नेमा मुगुबाट निर्वाचित शाही एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । रुकुम पश्चिमकी वली प्रदेशसभामा सामाजिक विकास समितिको अध्यक्ष र निर्वाचन आयोगमा दर्ता हुँदा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

त्यस्तै, रोकाया जुम्लाबाट प्रत्यक्ष निर्वाचित सदस्य हुनुहुन्छ । वलीले वैशाख ३ गते नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सच्याउनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button