तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची–हेलम्बु सडक निमार्णको काम अनिश्चित, बाढीको जोखिम कायमै

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निमार्णको काम अनिश्चित बनेको छ । 

असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । 

सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकहरुले सास्ती भोग्न परेको छ । 

सडक नहुँदा पुल निमार्णको काममा समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । 

“लगभग यतिबेला पुल निमार्णको काम सकिनै लाग्थ्यो बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो” अध्यक्ष शेर्पाले भन्नुभयो । 

दसैँ सम्ममा अस्थायी आवास निमार्णको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने हेलम्बु सरकारको योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । 

निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाट सम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् । 

आज मात्रै पनि मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङ बजार नजिकैको १ घर बाढीले ढलाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । बाढीले वितण्डा मच्चाएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । 

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ अझै जोखिम कायमै भएकाले सतर्कता अपनाउन भनेका छौँ भन्नुभयो । 

“नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पुर्ण संयन्त्र परिचालन गरेका छौँ ,करोडौँ रुपैयाँ लगानी भइसक्यो तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानी जस्तै भएको छ”,  नगर प्रमुख अर्यालले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button