तपाईँ सुन्दै हुनुहुन्छः

पाटनको कृष्ण मन्दिर कृष्णाष्टमीमा पनि बन्द

ललितपुर । काठमाडौँ उपत्यकाका तीन शहर मध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ । 

हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो । 

यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आवश्यक अनि सीमित व्यक्ति बसेर भगवान्को पूजापाठ आदि कर्म गर्नेछाँै ।” मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न नदिने उहाँको भनाइ छ । 

यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “रोगको ख्याल गरी कहीँ कतै भीड हुन दिने छैनौँ।” 

सोमबार मनाइने कृष्ण पर्व साङ्केतिक रुपमा मात्र अघि बढाउने कुरामा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताउनुभयो । साँझ परेपछि गुठीबाट बत्ती लगेर बाल्ने र घुइँचो नगर्ने भएको संस्थान कार्यालय ललितपुर शाखाका प्रमुख खिमा वलीले बताउनुभयो । 

ज्ञान योग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ । कृष्ण मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले ३५औँ कला नगरीसमेत घोषणा गरिसकेको छ । 

पाटन दरबार क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले यसलाई सुन्दरताको सहरले समेत सम्बोधन गर्ने गरेको पाइन्छ । 

कृष्ण मन्दिर पाटनको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा रहेको छ । यहाँ विगत दुई वर्ष पहिले दिनानुदिन हजारौँ हजार स्वदेशी तथा विदेशी पर्यटक घुम्न तथा अध्ययन गर्नसमेत आउने गर्थे । सो मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । 

कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो । नेपालमा शिखर शैलीमा ढुङ्गाबाट निर्मित २१ गजुर भएको एक मात्रै मन्दिरका रुपमा पाटनको कृष्ण मन्दिर परिचित छ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button