तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत रूपमा चयन हुनुभएको  छ । 

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष नेपाललाई चयन गरेको हो । 

यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो । 

बैठकले संसदीय दलको विधान निर्माणका लागि मस्यौदा समिति समेत गठन गरेको छ । 

समितिमा सांसदहरू भवानीप्रसाद खापुङ्, निरादेवी जैरू, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी र शेरबहादुर कुँवर रहनुभएको सांसद मेटमणी चौधरीले जानकारी दिनुभयो । 

यस्तै, बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा डा.बेदुराम भुषाललाई सर्वसम्मत रूपले चयन गर्नुका साथै पार्टीबाट मन्त्रिमण्डलमा पठाउनेहरूको नाम चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको सांसद चौधरीले बताउनुभयो । 

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दल तत्काल अर्को पार्टीमा समाहित हुने भनी चलाइएको हल्ला सत्य नभएको बताउनुभयो ।

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) तत्काल कुनै पार्टीसँग एकीकरण नहुने र यसले मुलुकको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउँदै नेपाली जनतालाई गरिबीको चक्रबाट मुक्त गर्न विश्व समुदायसँग हातेमालो गरी अगाडि बढ्ने उल्लेख गर्नुभयो । 

अध्यक्ष नेपालले युवा शक्तिको परिचालनमा जोड दिँदै युवाहरूको सहभागिता र युवालाई रोजगारी सिर्जना गर्नेतर्फ आफूहरूको मुख्य ध्येय हुने पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button