टुकादेवीको लघुकथा सङ्ग्रह ‘बार्दली’ विमोचन
न

तनहुँ । कवयित्री टुकादेवी पौडेल आचार्यको लघुकथा सङ्ग्रह ‘बार्दली’ को बिहीबार विमोचन गरिएको छ ।
पञ्चमुनीदेव माध्यामिक विद्यालयकी शिक्षिका समेत रहनुभएका आचार्यद्वारा लिखित ‘बार्दली’को शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङसहित विभिन्न साहित्यकारहरुले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
आचार्यको पहिलो कृति स्वरूप सार्वजनिक भएको लघुकथा सङ्ग्रहको विमोचन गर्दै मेयर गुरुङले व्यक्तिगत प्रतिभाको सुन्दर दस्ताबेजको रुपमा बार्दलीलाई लिनुपर्ने बताउनुभयो ।
उहाँले व्यक्ति विशेष रुपमा प्रकाशनमा आउने पुस्तक अन्तर मनको अभिव्यक्ति भएकाले विचार कुनै न कुनै माध्यमबाट प्रकट गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन’ले आचार्यद्वारा लिखित ‘बार्दली’ लघुकथा विधामा एक महत्त्वपूर्ण दस्ताबेजका रुपमा विकास हुने दाबी गर्नुभयो ।
“बार्दलीका लघु कथाहरू साँच्चिकै थोरै लघुकथाहरू मध्येमा पर्ने लघुकथा सङ्ग्रह बनेको छ ।” रोदनले भन्नुभयो “लघुकथा विधामा महिलाहरूका सहभागिता बढ्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ, यसले लघुकथालाई धेरैमाथि पुर्याउने काम गर्नेछ ।”
समालोचक तथा समीक्षक हरिप्रसाद भण्डारीले आचार्यको लघुकथा सङ्ग्रहले समाजको विकृति र विसंगतिहरुलाई व्यङ्ग्यात्मक रुपमा बाहिर ल्याउन कोसिस गरेको बताउनुभयो ।
पञ्चमुनीदेव माध्यामिक विद्यालयका प्रधानाध्यापक धुुर्वकुमार मल्लले आचार्य साहित्यिक क्षेत्रको एक लगनशील स्रष्टा भएको दाबी गर्दै ‘बार्दली’ले उहाँको साहित्यिक यात्रालाई सफलतामा पुर्याउन विश्वास व्यक्त गर्नुभयो ।
लघुकथा समाज नेपाल प्रदेश नम्बर १ की अध्यक्ष ममता मृदुल, शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणी आचार्य, स्रष्टाका सहपाठी एवं आयोजक विद्यालयका पूर्व अध्यक्ष सुरेन्द्र पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, साहित्यकार एवं कार्यक्रम सञ्चालक एकनारायण भण्डारी लगायतले बार्दली लघुकथा सङ्ग्रहको सफलताका लागि शुभकामना दिँदै तनहुँलाई साहित्यको क्षेत्रमा चिनाउन मद्दत पुग्नेमा जोड दिनुभयो ।
विद्यालयमा आयोजना भएको कार्यक्रममा तनहुँ र कास्कीका साहित्यकार तथा स्रष्टाहरू सहभागी भएका थिए । ‘बार्दली’ लघु कथामा ५७ लघुकथाहरूलाई समावेश गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्