काठमाडौँ उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थापन जरुरी

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा बाढीका कारण क्षति पुगेर अनिश्चित बनेपछि काठमाडौँ उपत्यकामा खानेपानीको फेरि समस्या देखिन थालेको छ ।
काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग हुँदै आएको अवस्थामा हाल १४ करोड लिटर मात्रै पानी वितरण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा नआउँदा सम्म खानेपानीको माग धान्न वैकल्पिक व्यवस्था अपनाउनुपर्ने देखिन्छ ।
गत चैत महिनादेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आउँदा दैनिकजसो आफ्नो घरको धारामा पनि पानी आउँदा सहज भएको उपत्यकाबासी कल्पना पराजुलीले बताउनुभयो । तर मेलम्चीको पानी बाढीका कारण बन्द भएसँगै हाल हप्ताको एक दिन मात्र पानी आउँदा बोरिङकै पानीको भर पर्नुपरेको उहाँको गुनासो छ । उहाँको जस्तो समस्या उपत्यकाका प्रायः सबै उपभोक्ताले झेल्दै आएका छन् ।
मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुर्याएर पानी आउन बन्द भएसँगै उपत्यकाका उपभोक्ताहरूलाई परम्परागत स्रोतहरूबाट नै पानी वितरण गर्दै आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।
हाल दैनिक ४३ करोड लिटर पानीको माग रहेको काठमाडौँ उपत्यकामा ४ देखि ९÷१० दिन बिराएर जम्मा १४ करोड लिटर पानी वितरण गर्दै आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड–केयुकेएलले जनाएको छ ।
पानी कम भएसँगै उपभोक्ताहरूको गुनासो आउने गरेको र पानी वितरणमा समेत समस्या परेको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिनुभयो ।
मेलम्ची आयोजना प्राकृतिक प्रकोपका कारण बन्द जस्तै भएको अवस्थामा मेलम्ची आउनुभन्दा पूर्वको अवस्था अनुसार नै पुरानै स्रोतहरूबाट उपत्यकाका उपभोक्तालाई पानी उपलब्ध गराउँदै आएको प्रवक्ता राईले बताउनुभयो ।
वर्षायाममा समेत काठमाडौँ उपत्यकामा खानेपानीको हाहाकार हुने र बनिसकेको मेलम्ची आयोजनाबाट उपत्यकामा अब कहिले पानी ल्याउन सकिने भन्ने अनिश्चित भएपछि यसको उपयुक्त वैकल्पिक व्यवस्थापन जरुरी रहेको विज्ञहरूको सुझाव छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले विकल्पबारे सम्बन्धित निकायहरूसँग छलफल सुरु गरेको जनाएको छ । मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेसँगै याङ्ग्री र लाक्रेको पनि भौगोलिक अवस्थाको अध्ययनपछि मात्रै आयोजनाको काम अगाडी बढाउने योजना रहेको छ ।
यस्तो अवस्थामा पानीको वैकल्पिक स्रोत अध्ययन गर्नुपर्ने बताउनुहुन्छ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राई । आकाशे पानी सङ्कलन लगायतका विषयमा पहिलेदेखि धेरै छलफल हुँदै आएको र यसलाई योजनाबद्ध रुपमा अगाडी बढाउनुपर्ने प्रवक्ता राईले बताउनुभयो ।
यसका साथै हाम्रै वरिपरि रहेका पानीका स्रोतहरूको पानी सङ्कलनमा पहिलो प्राथमिकता दिनुपर्ने र अन्य दीर्घकालीन योजना बनाउँदै अगाडी बढ्ने केयुकेएलको योजना रहेकोले यससम्बन्धी सम्बन्धित निकायहरूसँग छलफल समेत भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
गत चैतमा मेलम्चीको खानेपानी उपत्यकाका धारा धारामा आउन थालेपछि आपूर्ति व्यवस्थापनमा केही सहज भएको थियो । मेलम्चीको दैनिक १७ करोड लिटर पानी थप हुँदा केही समय उपत्यकावासीले खानेपानीको सहजता महसुस गर्न पाएका थिए ।
मनसुन सुरुवात भएको एक साता पनि नपुग्दै मेलम्ची खोलामा आएको बाढीका कारण क्षति पुगेसँगै आयोजना कहिले सम्पन्न हुने भन्नेमा अन्योल रहेको आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेसँगै काठमाडौँ उपत्यकामा देखिएको खानेपानी समस्या समाधान गर्न यसको वैकल्पिक व्यवस्थापनमा सम्बन्धित पक्षको ध्यान जान जरुरी देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्