तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको बराह ताल पर्यटकको पर्खाइमा

पर्वत ।पर्वतको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको बराह ताल ओझेलमा परेको छ । पर्यटकीय सम्भावना रहेको भएपनी प्रचारप्रसारको अभावले ताल ओझेलमा परेको हो । जलजला गाउँपालिका–२ पुरानो गाउँ (पूर्ण गाउँ)स्थित बराह ताल पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराह ताल तीन रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको छ । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल पर्यटक र पूर्वाधार विकासको पर्खाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेको भएपनी स्थानीयवासी र स्थानीय सरकारले तालको प्रचारप्रसार गर्न नसकेका कारण ताल ओझेलमा परेको स्थानीबासीको भनाइ छ ।

म्याग्दीको सदरमुकाम बेनीदेखि मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराह ताल पुग्न सकिन्छ । तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छाया पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । जनै पूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । त्यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

घर्ती क्षेत्रीको कुल पुजा समेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नवीन जिसीले बताउनुभयो । बराह ताल अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ । अङ्ग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन सकेको छैन ।

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराह ताल कहिल्यै सुक्दैन । तालको बिच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छ । गाई भैँसीले तालमा फोहोर गर्ने समस्या रोकिएको छ । ताल परिसरमा सुरक्षाका लागि भित्री भागमा तारजाली तथा बाहिरी भागमा घेरबार लगाउने कार्य भइरहेको जलजा गाउँपालिका वडा नं. २ का अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो ।
गाउँपालिका भित्र ठूलो ताल भनेको यही हो ।

गत बर्ष केही घेराबार गरिएको र चालु आर्थिक वर्षमा पनि ताललाई गहिरो बनाउने र तालको वरिपरि पर्खाल लगाउने काम गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button