तपाईँ सुन्दै हुनुहुन्छः

निजी क्षेत्रकाे १५ करोड लगानीमा अस्पताल र होटेल सञ्चालन

अछाम। अछाम जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा निजी क्षेत्रकाे करिब १५ करोडको लगानीमा सुविधा सम्पन्न अस्पताल र होटेल एकसाथ सञ्चालनमा आएका छन् । साँफेबगरको एरपोर्टबजारमा पहिलो पटक निजी क्षेत्रको लगानीमा अस्पताल सञ्चालनमा आएको हो ।

स्वास्थ्यकर्मी कृष्ण कुँवरको सक्रियतामा ध्रुवतारा अस्पताल सञ्चालनमा आएको हो । नवनिर्मित सोही भवनमा धुर्वतारा नामबाटै होटेल पनि सञ्चालनमा आएको छ । अस्पताल र होटेल सञ्चालनका लागि मुख्य २ जना कृष्ण कुँवर र शिब बहादुर साउदको लगानी रहेको छ ।

अछाम, बाजुरा तथा डोटी जिल्लाका नागरिकलाई लक्षित गर्दै अस्पताल सञ्चालन गरिएको अस्पतालका सञ्चालक कृष्ण कुँवरले बत्ताउनुभयो । यस क्षेत्रका जनतालाई सर्वसुलभ सेवा दिनका लागि अस्पतालको सुरुवात गरिएको उहाँको दाबी छ ।

अस्पतालबाट हार्डजोर्नी, गाइने लगायतका विशेषज्ञ सहितको सेवा दिइने छ । उपचारका लागि यस क्षेत्रका जनताले जिल्ला बाहिर जान नपरोस् भन्ने उद्देश्यका साथ अस्पताल सञ्चालन गरिएको अर्का सञ्चालक शिब बहादुर साउदले बत्ताउनुभयो ।

यसअघि उनीहरूले ध्रुवतारा फार्मेसी समेत सञ्चालन गरिरहेका थिए । करिब १० करोड लागतमा सञ्चालन गरिएको अस्पतालमा अन्य निजी क्षेत्रको शुल्क भन्दा कम शुल्कमा सेवा प्रदान गरिने सञ्चालकको भनाई छ ।

होटेलमा ५ करोड भन्दा बढीको लगानी

यस्तै करिब ५ करोडको लगानीमा सोही भवनमा होटेल समेत सञ्चालनमा आएको छ । ध्रुवतारा नामबाटै होटेल पनि सञ्चालनमा आएको हो ।

सबै प्रकारका सेवा सुविधा सहित होटेल सञ्चालनमा आएको सञ्चालकको भनाई छ । शान्त वातावरणका लागि होटेलमा मदिरा नराखिने सञ्चालक कुँवरको भनाई छ । भवन पनि नवनिर्मित भएकाले भवन सँगै अस्पताल र होटेल सञ्चालनका लागि करिब १५ करोड लागत लाग्ने उहाँको भनाइ छ ।

अस्पताल र होटेलका एक कार्यक्रमका बिच पूर्व सांसद एवंम राजदुत बल बहादुर कुँवरले उद्घाटन गर्नुभयो । राम्रो सुरुवात भएको भन्दै सेवा सुविधा पनि सर्वसुलभ र गुणस्तरीय दिनुपर्नेमा कुँवरको जोड छ ।

उद्घाटन कार्यक्रममा जिविस अछामका पूर्व सभापति भरत कुमार स्वाँर, साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर, कांग्रेस महासमिति सदस्य राजन कुँवर, बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठक, उद्योग वाणिज्य सङ्घ अछामका अध्यक्ष महेन्द्र कडायत लगायत विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button