तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाले विद्युत् महसुल तिरिदिने

पर्वत । पर्वतको मोदी गाउँपालिकाले पालिका भित्रका विपन्न परिवार र २० युनिटभन्दा कम बिजुली उपयोग गर्ने नागरिकको विद्युत् महसुल तिरिदिने भएको छ । 

गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै गाउँपालिकाले चालु वर्ष देखि विद्युत्मा छुट दिने कार्यक्रम कार्यान्वयन गरेको हो । 

मोदी गाउँपालिका विद्युत्को हब हो । यहाँको मोदी खोलामा दुई वटा जलविद्युत आयोजना सञ्चालित छन् भने यही वर्ष दुई वटा जलविद्युत आयोजना चालु वर्ष सम्पन्न हुने चरणमा छन् । 

यहाँ थप दुई वटा आयोजनाको काम पनि निर्माणाधीन छ । विद्युत्को हब भएको हुनाले स्थानीयले विद्युत्मा छुट दिन माग गर्दै आएका थिए । 

गाउँपालिकाले स्थानीयको माग अनुसार चालु वर्षदेखि निःशुल्क विद्युत् उपलब्ध गराउन थालेको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार सर्वसाधारणको विद्युत् महसुल गाउँपालिको व्यहोर्नका लागि चालु वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

अहिले निर्माणाधीन कार्यविधिमा मासिक आय कम हुने, विपन्न तथा दलित परिवारलाई प्राथमिकतामा राखेको पौडेलले बताउनुभयो । मोदीका सबै वडामा विपन्न तथा कम आय भएका परिवारको लगत सङ्कलन गर्न कर्मचारी खटाइएको छ । 

कार्यविधि तयार भइसकेपछि सबै स्पष्ट हुने गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताउनुभयो । निःशुल्क विद्युत् बाल्न दिने गरी योजना बनाएको पालिकाले कार्यविधि बनाउन ढिलाइ भए पनि साउनदेखिकै महसुल तिर्ने योजना बनाउन थालेको थियो । 

पालिकाले त्यसका लागि विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रसँग समन्वय गरिसकेको छ । अनुमानित २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले उक्त रकमले अपुग भएमा थप्ने जनाएको छ ।

विद्युत् गृहले प्रभावित क्षेत्रका बासिन्दालाई सहुलियतमा विद्युत् उपलब्ध गराउँदै आएको छ । हालसम्म नेपाल विद्युत् प्राधिकरणको मोदी खोला तथा निजी क्षेत्रको युनाइटेड मोदी जलविद्युत् आयोजना गरी २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । 

निजी क्षेत्रका दुई आयोजनाको ३५ दशमलव १ मेगावाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । अहिले भइरहेका आयोजनाबाट मोदी गाउँपालिकाले वार्षिक १ करोड ३० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्छ । 

सोही रोयल्टीबाट प्राप्त रकमबाट पालिकावासीलाई विद्युत् महसुलमा छुट दिन लागिएको गाउँपालिकाले जनाएको छ । केन्द्र सरकारले समेत विपन्न परिवारलाई विद्युत् महसुल छुट दिने चर्चा छ । 


केन्द्र सरकारभन्दा पहिले गाउँपालिकाले आफ्नो योजना लागु गर्ने हतारोमा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button