तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयवासीको सक्रियतामा नवलपुर–चौतारा सडक सञ्चालनमा

सिन्धुपाल्चोक । वर्षाका कारण पहिरो गई नवलपुर–चौतारा सडक शनिबार बन्द भएकामा स्थानीयवासीको सक्रियतामा सोमबारबाट सञ्चालन भएको छ । इन्द्रावती गाउँपालिका वडा नं २ को बेंशीमाथिको पहिरो भएको ठाउँमा पहिरो गई सडक बन्द हुन पुगेको थियो ।

झ्याँडी पुलदेखि करिब ५० मिटर माथि १२ मिटर जति बाटोको भाग भासिएको थियो । सोमबार इन्द्रावती गाउँपालिका बाट प्राविधिक टोली आई क्षतिको नापजाँच गर्ने काम गरी छिटोभन्दा छिटो निर्माण गरिने आश्वासन दिए पनि तत्काल यात्रुहरूको समस्यालाई मध्यनजर गरी बाटो खुलाउने पहल गरिएको स्थानीयवासी विष्णु भारतीले जानकारी दिनुभयो । युवाहरूले ढुङ्गा खोजी तलबाट पर्खाल लगाई यात्रुवाहक गाडी चल्नेसम्म बनाएका हुन् ।

स्थानीयवासी विष्णु भारती, रामप्रसाद गिरी, शुक्रप्रसाद आचार्य, दिपक आचार्य, नवराज थापा, राजु आचार्य, दिपक आचार्य सहितको टोलीले  दिनभर श्रम गरी सडक सञ्चालनमा ल्याएको हो । यात्रुवाहक गाडी सञ्चालनमा आउन सके पनि ठुला ट्रिपर भने चलाउन नमिल्ने बताएको छ ।

यो सडक सञ्चालनमा आएसँगै ज्यामिरे, शिखरपुर, नवलपुर, बाँडेगाउँ तथा कुन्चोकवासीलाई सदरमुकाम चौतारा तथा राजधानी काठमाडौँ जान सहज हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button