तपाईँ सुन्दै हुनुहुन्छः

पाँचपोखरीमा मेला स्थगन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको धार्मिक एवम् पर्यटकीय स्थल पाँचपोखरीमा यो वर्ष मेला नलाग्ने भएको छ । प्रत्येक वर्ष जैनी पूर्णिमाको दिन मेला लाग्ने पाँचपोखरीमा  कोरोना भाइरस सङ्क्रमणका कारण यो वर्ष मेला स्थगन गरिएको हो । 

मेला एवम् जात्राले कोरोना संक्रमण बढ्न सहयोग पुग्ने भन्दै पाँचपोखरी थाङपाल गाउँपालिकाले यो वर्ष मेला भर्न पाँचपोखरी नआउन भक्तजनहरूलाई अपिल गरेको छ । गत वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगन गरिएको थियो ।

प्रत्येक जैन पूर्णिमाको दिन मेला भर्न देशको विभिन्न भागबाट हजारौँको सङ्ख्यामा पाँचपोखरी आउने गर्थ्यो । सामुन्द्रिक सतहबाट ४ हजार ६० मिटर उचाइमा रहेको पाँचपोखरी धार्मिक रुपमा मात्र हैन पर्यटकीय रुपमा पनि परिचित छ । साना र ठुला गरी पाँच वटा पोखरी रहेकै कारण पाँचपोखरी नामाकरण गरिएको पाँचपोखरीमा ऋषि विश्वामित्रले तपस्या गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । 

झण्डै  हजार ३ सय २६ वर्ष अगाडि पाँचपोखरी किनारमा महादेव लगायत देवी देउताहरू मान्छेको भेषमा धान खेती गरी रहेको बेला त्यस ताकाका प्रख्यात सिकारी बुम्बा वाइबा नाम गरेको सिकारी सिकार खेल्ने क्रममा  त्यहाँ पुगेको र यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी अलि छेउमा जाँदा सिकारी बुम्बालाई महादेवले देखेपछि महादेव लगायत मान्छेको भेषमा खेती गरिरहेका सबै अलप भएपछि सोही ठाउँमा सिकारी बुुम्बाले आफ्नो सिकारी कुकुरले लगाइ राखेको घण्टी  फुकाली रोपाई गरिरहेको ठाउँमा झुन्डाइ मन्दिरको स्थापना गरेको किंवदन्ती पाँचपोखरीस्थित महादेवको मन्दिर रहेको शिलालेखमा उल्लेख छ । 

त्यस यताबाट नै पाँचपोखरीमा हरेक भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म मेला लाग्ने गरेको विश्वास छ । । पाँचपोखरी हुँदै तिलमान पास गर्न पनि सकिन्छ तर पास अत्यन्तै कठिन रहेको पर्यटन व्यवसायी मिलन तामाङ बताउनु हुन्छ । यसको उचाइ ५ हजार मिटर भन्दा बढी रहेको छ ।

पाँचपाखरीमा डुबुल्की मारेर पाँच वटा पोखरी परिक्रमा गरेमा पाप मोचन हुने जनविश्वास छ । 

इन्द्रावती र ब्रहयणी नदीको उद्गमस्थलका रुपमा रहेका पाँचपोखरी सदरमुकाम चौताराबाट तीन दिनको पैदलमा पुगिन्छ भने मेलम्ची हुँदै भोताङसम्म सवारी साधनमा गएर भोताङबाट एक दिन पैदलमा पनि पाँचपोखरी पुग्न सकिन्छ । 

गत असार १ गतेको बाढीले  मेलम्ची भएर भोताङ सडक मार्ग अवरुद्ध भएको कारण पनि यो पटक पाँचपोखरी तीर्थाटनमा जानेको सङ्ख्या कम हुने आङ्कलन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button