जुम्लामा निगालो प्रशोधन उद्योग सञ्चालन

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा जिल्लामै पहिलो जङ्गलमा पाइने निगालो प्रशोधन उद्योग सञ्चालन गरिएको छ ।
डोको बुन्ने पुर्खोउली पेसालाई जोगाउन तथा आर्थिक आम्दानीका साथै व्यवसायीक बन्न हिमा गाउँपालिकाका ७ जना स्थानीयको संयुक्त लगानीमा निगालो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको हो ।
जसबाट विगतको भन्दा मनग्य कमाइ भइरहेको स्थानी बताउँछन् ।
विगतमा निगालोबाट बनेका डोको, टपरी, ढाला, मुडा, सुपो पिँजडा लगायतका सामाग्री अन्नपातसँग साटिन्थ्यो । तर समयको विकाससँगै पुर्खौली सिपलाई आम्दानीसँग जोड्न उद्योग सञ्चालन गरेको जुगेनी निगालो प्रशोधन उद्योगका सञ्चालक नन्दबहादुर अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार उद्योगमा निगालोबाट डोको, डाला, मुडा, मुगाला, सिन्के टोकरी, सोली, सुपा, भकारी, दराज, पिँजडा, न्यानो स्यानु लगायतका १४ प्रकारका सामग्री निर्माण भइरहेका छन् । पेस नेपालले प्राविधिक सहयोगसहित तालिम दिएपछि उद्योग सञ्चालन गरेको अधिकारी बताउनुभयो ।
जिल्लामै पहिलो सञ्चालित निगालो उद्योगलाई हिमा गाउँपालिकाका अध्यक्ष रज बहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले सिपलाई आर्थिकसँग जोड्न प्रविधि र लगानीको अभाव नरहेको बताउनुभयो ।
निगालो उद्योगको निरन्तरता र विकासमा पालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाई छ ।
पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले निगालो उद्योग सञ्चालनमा आफूहरूले प्राविधिक सहयोग, औजार तथा तालिम दिएको बताउनुभयो ।

उहाँले वैज्ञानिक वन व्यवस्थापनलाई ध्यानमा राख्दै निगालो सङ्कलन गर्ने, आधुनिक मोडेलका सामाग्री बनाउन सिकाएका उल्लेख गर्नुभयो ।
उद्योग उद्योग सञ्चालन पश्चात् सिपको सम्मान,रोजगारी र आर्थिक आम्दानी हुने अपेक्षा पनि गरिएको छ ।
खेतीपाती मलजल गर्न तथा विभिन्न काममा प्रयोग हुने डोको, डालो, सुपा लगायतका निगालोका सामग्री बनाएर बेच्ने र परिवारको गुजरा चलाउने नागरिक जुम्लामा धेरै छन् ।
हिमा गाउँपालिका–६ का गङ्गा अधिकारीले भन्नुभयो, “डोको बनेरै म परिवार चलाउँछु । एक वर्ष अघिसम्म गाउँघरमा मेरा छोराछोरीलाई डोको बुन्नेका सन्तान भनेर गिज्याउने गर्थे । तर अहिले निगालो उद्योग नै सञ्चालन हुँदा म खुसी छु । मेरो पेसा पनि सम्मानित भएको महसुस भएको छ ।”
ज्येष्ठ नागरिकहरूले सञ्चालन गरेको निगालो उद्योगलाई निरन्तरता दिन युवा पुस्ता सिप हस्तान्तरण गर्न आवश्यक रहेको छ ।
निगालोबाट बन्ने सामाग्री युवाभन्दा ज्येष्ठ नागरिकले बढी बनाउँछन् । परम्परागत सिमलाई पुस्तान्तरण गर्ने खालका कार्यक्रममा स्थानीय सरकारले जोड दिन आवश्यक रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्