तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा चार अस्पतालको शिलान्यास

गलकोट– बागलुङमा शिलान्यासको सूचीमा परेको छमध्ये आज चार अस्पतालको शिलान्यास गरिएको छ । अर्थ मन्त्रालयले बागलुङका छ पालिकामा अस्पताल निर्माण गर्नका लागि बजेटसमेत निकासा गरेको छ । बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडीगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्ने गरी एकसाथ शिलान्यास गर्ने भने पनि जम्मा चार अस्पतालकोे मात्रै शिलान्यास भएको छ ।

बागलुङ नगरपालिकाको पैंयुपाटा स्वास्थ्य चौकीमा निर्माण हुने १५ श्ययाको अस्पताल आन्तरिक समस्याका कारण आज शिलान्यास गर्न नसकेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । जग्गा विवादका कारण अस्पताल शिलान्यास हुन नसकेको उहाँले बताउनुभयो । तमानखोला गाउँपालिकास्थित बोङ्गादोभान स्वास्थ्यचौकीमा निर्माण हुँने पाँच श्ययाको अस्पताल यही मङ्सिरको २२ गते मात्रै शिलान्यास गरिने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । चिठी एक ठाउँमा अर्को ठाउँमा अख्तियारी आएका कारण शिलान्यास गर्न समस्या भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

पैयुपाटामा अस्पताल बनाउने कुरा थियो बजेटको अख्तियारी आउँदा मूलपानी भनेर आयो”, नगरप्रमुख पौडेलले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयले सच्याएर पठाएपछि काम अगाडि बढ्दछ ।” दश पालिकामध्ये छ पालिकामा आज अस्पताल शिलान्यास गर्नेगरी बजेट पठाएको थियो । यस्तै तमानखोला गाउँपालिकामा समेत जग्गा व्यवस्थापनका लागि केही ढिलो भएको गाउँपालिकाले जनाएको छ । बागलुङका छ स्थानीय तहमा पाँच, १० र १५ श्ययाको अस्पताल बनाउन अर्थमन्त्रालयले बजेट स्वीकृत गरी निकासा गरीे पठाइसकेको महाशाखाका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहमा अस्पतालको मापदण्डसमेत पठाइएको छ ।

बागलुङको बडीगाड गाउँपालिकाको ग्वालिचौर स्वास्थ्य चौकीमा १५ श्ययाको अस्पताल गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले, बरेङ गाउँपालिकाको हुग्दीशिर स्वास्थ्य चौकीमा १० श्ययाको अस्पताल गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले, ताराखोला गाउँपालिकाको अर्गल स्वास्थ्य चौकीमा पाँच श्ययाको अस्पताल गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र निसीखोला गाउँपालिका–४ मजुवाफाँटमा १० श्ययाको अस्पताल गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले शिलान्यास गर्नुभएको छ ।

अस्पताल निर्माणका लागि स्थानीय तहले जग्गा व्यवस्थापनमा भूमिका खेलेको थियो । अस्पताल निर्माणमा सहजीकरण तथा प्राविधिक सहयोग गर्ने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सव सेवा महाशाखामा प्रमुख डा रामबहादुर केसीले जानकारी दिनुभयो । अस्पताल बनाउन न्यूनतम प्रत्येक पालिकामा सात रोपनी जग्गा व्यवस्थापन भएको छ । अस्पतालको नक्सालगायत प्राविधिक क्षेत्रमा सहयोग प्रदेशले गर्नेछ । रासस

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button