तपाईँ सुन्दै हुनुहुन्छः

किसानको खेतमा दाइँ साहित्य

लमजुङ । नेपाली साहित्यमा नयाँ प्रयोग गर्ने उद्देश्यले हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङ र चिति साहित्य समाजको आयोजनामा आज बेँसीशहर नगरपालिका–११ बरबोटफाँटमा नवौँ दाइँ साहित्य सम्पन्न भएको छ ।

बेंसीशहरबाट त्यहाँ पुगेका राष्ट्रिय तथा जिल्लास्तरीय साहित्यकार किरण बराल, वसन्त अधिकारी, आनन्द घिमिरे, तेजनारायण अधिकारी, शिव जोशी, अमृता पौडेललगायत साहित्यकारले कोरोना र दाइँसम्बन्धी गीत, कविता र गजल सुनाउनुभएको थियो ।

त्यस्तै लोक तथा दोहोरी प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी र स्थानीय महिला आमा समूहबीच कोरोनासम्बन्धी दोहोरीसमेत प्रस्तुत गरिएको थियो । दाइँको खला साहित्यकार र साहित्यानुरागीको जमघटले साहित्यमय भएको थियो ।

साहित्यलाई किसानको चासोको विषय बनाउने तथा तिनका दुःख, पीडा र कर्मलाई तिनकै कर्मथलोमा सुनाउनुपर्छ भन्ने उद्देश्य लिएर कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष बेनबहादुर सुयलले बताउनुभयो ।

चिती समाजका अध्यक्ष स्थिरबाबु घिमिरेले साहित्यको शुरुआत मेलापात, खेतीकिसानी, रोपाइँ–दाइँ जस्ता कृषि कर्म तथा विवाह व्रतबन्ध जस्ता धार्मिक तथा सांस्कृतिक पर्वमा भएको जनाउँदै आफूहरुले साहित्यलाई किसानको घरदैलो र खेतबारीसम्म पुर्याई तिनको मनोबल बढाउने काम गरेको बताउनुभयो ।

स्थानीयवासी कृषक लवराज जोशीको खलामा भएको दाइँ साहित्यको नगर प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्दै यस्ता कार्यक्रमले परम्परा जोगाउने तथा साहित्य र कला सिर्जनाको संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “साहित्य तथा कला क्षेत्र बचाउनका लागि नगरपालिका साहित्यकारहरुसँगै अघि बढ्छ । अब परम्परागत तरिकाले मात्र कृषि उत्पादन हुन नसक्ने भएकाले कृषिको यान्त्रीकीकरण गर्नुपर्छ ।”

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख रोहिणिराज घिमिरेले कृषकको मनोबल उच्च बनाउन कृषि क्षेत्रमा सरकारले विभिन्न आवश्यक सहयोग गर्दै आइरहेको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button