किशोर–किशोरीलाई कानूनी शिक्षा
सप्तरी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको आयोजनामा आज सप्तरीको राजविराजस्थित के.अ. मा.वि. मा किशोर किशोरी कानूनी शिक्षा विषयमा तालिमको आयोजना भएको छ ।
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आयोजित तालिममा विद्यालयका किशोर–किशोरीलाई कानून व्यवसायीहरुले संविधान र कानूनी ज्ञानका बारेमा जानकारी दिनुभयो ।
‘यौन दुव्र्यवहार, बालयौन दुराचार, संविधानमा मौलिक हक, बालअधिकार, बाल विवाहसम्बन्धी कानूनी व्यवस्थालगायतका विषयमा कानुन व्यवसायीहरुले तालिम दिनुभयो । तालिम दिनुहुने कानुन व्यवसायीहरुमा मनु खनाल, रामप्रसाद गौतम, किरण साह, पार्बती चौधरी र रञ्जिता रिजाल हुनुहुन्थ्यो ।
तालिम अघि मूल समारोह समितिका सहसंयोजक अनीता देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला बार इकाईका अध्यक्ष डोमन साहले स्वागत र प्रधानाध्यापक विनोद साहले शुभकामना मन्तव्य राख्नु भयो । उद्घाटन पश्चात भौतिक दुरी कायम गरी दुई फरक कक्षामा तालिम सञ्चालन भएको थियो । कार्यक्रम जिल्ला बार एकाईको संयोजनमा भएको हो ।
कानूनी ज्ञानका अभावमा हिंसाविरुद्ध आवाज उठाउन, प्रतिवाद र प्रतिरोध गर्न नसकिने भएकाले किशोरकिशोरीलाई कानूनी रुपमा सबल बनाउन तालिमको आयोजना गरिएको मूल समारोह समितिका अध्यक्ष मनोहर पोखरेलले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्