आयुर्वेदिक जडीबुटीयुक्त चूर्णको माग बढ्दो
काठमाडौं । कोरोनाको प्रकोप बढेसँगै पछिल्ला केही दिनयता रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जडीबुटीयुक्त चूर्णको माग निक्कै बढेको छ ।
विभिन्न जडीबुटीबाट तयार गरिएको जेष्ठवासादी मिश्रण चूर्ण निःशुल्क वितरण गर्दै आएको आयुर्वेद चिकित्सालय, नरदेवीले हाल उक्त चूर्णको माग धान्न हम्मेहम्मे परेको जनाएको छ ।
विभिन्न १२ प्रकारका औषधीय गुणयुक्त चूर्ण रोगप्रतिरोधी क्षमता अभिवृद्धि गर्न प्रभावकारी देखिएपछि हिजोआज चिकित्सालयमा उक्त चूर्ण लिने सर्वसाधारणको भीड निकै देखिने गरेको छ । व्यक्तिगत रुपमा मात्र नभई संस्थागत रुपमा पनि चूर्णको अत्यधिक माग आइरहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले बताउनु भयो ।
चिकित्सालयले अहिलेसम्म करीब ४० हजार प्याकेट चूर्ण निःशुल्क वितरण गरिसकेको जनाएको छ । चिकित्सालयले गत भदौ ११ गतेदेखि सो चूर्ण वितरण गर्दै आएको हो । अहिले दैनिक ७०० प्याकेटभन्दा बढी चूर्ण वितरण भइरहेको छ । पछिल्लो समय उक्त चूर्णको सेवनबाट लाभ लिएकाहरु पुनः प्रयोगका लागि लिन आउनेको सङ्ख्या पनि बढ्दै गएको चिकित्सालयले जनाएको छ ।
चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा चूर्ण वितरणमा ३० लाख खर्च भइसकेको र माग झन् बढ्दै गएको अवस्थालाई दृष्टिगत गरेर चिकित्सालयले सरकारसँग थप बजेटको माग गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्